Saturday, November 16, 2024

उपचाररत दुई संक्रमित केही दिनमै डिस्चार्ज हुने

चैत २९ (हाकाहाकी)– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई संक्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् ।

कोभिड–१९ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो ।

टेकु अस्पतालमा अहिले कोभिड शंकास्पद नौ जनाको उपचार भइरहेको छ ।

यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।

निर्देशक डा. राजभण्डारीले विगतका तुलनामा पछिल्ला दिनमा अस्पतालको सेवामा सहजता आएको छ । जनशक्ति तथा उपकरणको कमी छैन । कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको र लकडाउनका कारण पनि उल्लेख्य संख्यामा बिरामी नआएको उहाँको भनाइ छ ।

यसैबीच अस्पतालले उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन भने नियमित भइरहेको छ ।

अहिले दैनिक ७० जनासम्म रेबिजको सुई लगाउन अस्पताल आउने गरेको अस्पतालका निर्देशक डा.राजभण्डारीले जानकारी दिनुभयो । टेकु अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वारेन्टाइन कक्ष छन् । अहिले २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य उच्चगतिमा भइरहेको पनि निर्देशक डा.राजभण्डारीले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार