चैत २९ (हाकाहाकी)– वीर अस्पतालमा पनि कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ ।
यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुँदै आएको परीक्षणलाई विस्तार गर्दै वीर असपतालबाट पनि परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजदेखि वीर अस्पतालमा नमुना परीक्षण सुरु भएको र भोलिदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि नमुना परीक्षण हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार देशैभर कोरोना परीक्षणको दायरा बढाइएको छ । अहिलेसम्म चार हजार चार सय २६ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा भने आठ सय ९७ जनाको नमुना परीक्षण भएको छ । यस्तै अहिले देशभर आठ हजार ८२ जना क्वरेण्टीनमा छन् । काठमाण्डौमा १५ जना र उपत्यकाबाहिर ६७ जना गरी अहिले ८२ जनाको आइसोल्नशमा उपचार भइरहेको प्रवक्ता डा. देवकोटाले बताउनुभएको छ ।