चैत २८ (हाकाहाकी)— दाङमा वन गस्ती टोलीले लकडाउनको मौका छोपी वन पैदावार चोरीमा संलग्न १० जनालाई पक्राउ गरेको छ ।
वन गस्ती टोलीले लकडाउन अवधिभर भएका विभिन्न ६ वटा घटनामा वन पैदावार चोरी तस्करीमा संलग्न भएको अभियोगमा १० जनालाई पक्राउ गरेको जनाएको छ ।
यस अवधिमा तीन वटा ट्रयाक्टर पनि वन गस्तीले नियन्त्रणमा लिएको तथा सयौँ क्यू फिट अवैध काठ बरामद गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले लकडाउन अघि काठ तस्करीका घटनाहरु नभएकोमा लकडाउन हुनासाथ तस्करी ह्वात्तै बढेको बताउनुभयो ।
गस्तीका क्रममा लामो सयमदेखि वन पैदावार तस्करीमा संलग्न पेशेवरहरु पक्राउ परेको ज्ञवालीको भनाइ छ ।
गस्तीले वनमै रुख ढालेर काटिरहेको अवस्थामा तस्करहरुलाई फेला पारेको कार्यालयले जनाएको छ ।
अत्यधिक जोखिमका साथ आठ वटै सब डिभिजन कार्यालय स्तरबाट आ आफ्नो क्षेत्र र डिभिजन स्तरबाट पुरै क्षेत्रमा प्रभावकारी रुपमा गस्ती गर्ने कार्य भइरहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।