चैत २८— राष्ट्रिय युवा परिषद्ले कोभिड–१९ को संभावित जोखिम हुन नदिन सचेतना जगाउन युवा परिचालन गर्ने भएको छ ।
वडा, नगर, प्रदेश र सङ्घीयस्तरमा गठित युवा क्लब सञ्जालमा आबद्ध युवाले आ–आफ्नो क्षेत्रमा सम्बन्धित सरकारसँग समन्वय गरी स्वयंसेवकीय भूमिका निर्वाह गर्ने गरी युवा परिचालन गर्न थालेको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला युवा समितिका अध्यक्ष र युवा क्लब सञ्जाललगायत अन्य सबै सञ्जालका सदस्य स्वयंसेवी रुपमा परिचालन हुने छन् । ७७ जिल्लामा रहेका युवा सञ्जालमा रहेका छन् । उहाँले कोरोना रोकथाममा जनचेतना जगाउन करिब तीन हजार युवा परिचालन हुने जानकारी दिनुभयो ।
स्वयंसेवीले विश्व स्वास्थ्य सङ्गठन तथा आधिकारिक स्वास्थ्य संस्थाबाट जारी सूचना र निर्देशनको पालना गर्न सर्वसाधारणलाई सचेत गराउने, कोभिड–१९ को प्रभावबाट जोगिनका लागि स्वास्थ्यकर्मीद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी सर्वस्वीकार्य उपायको पालना गर्ने र सर्वसाधारणलाई यसको पूर्ण पालना गर्न अनुरोध गर्ने छन् ।
यसैगरी सार्वजनिकस्थलमा भीडभाड गर्न नदिने र खाद्यान्न भण्डार तथा औषधि पसलमा एकैचोटी ग्राहकको ठूलो भीड हुन नदिई पालो वा कुपन प्रथाबाट पालैपालो सेवा दिने वातावरण निर्माणका लागि सहजीकरणसमेत गर्ने छन् ।