Sunday, November 17, 2024

कालिमाटी तरकारी तथा फलफुल बजार बिहीबारबाट बन्द

चैत २८— कोरोना संक्रमणको संभावित जोखिम नियन्त्रण गर्न सरकारले कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरेको छ ।

काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा आजदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिन्छ ।

महानगरपालिकाले बन्दाबन्दी अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ ।

साथै तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्नेगरी तयारी भएको जानकारी दिनुभयो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बन्दाबन्दीका बेला भीड बढेर कोरोनाको जोखिम हुने खतरा देखिएपछि महानगरपालिकाको निर्णयलाई सहयोग गर्न केही समयका लागि तरकारीको कारोबार बन्द गर्न लागिएको जानकारी दिनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार