निकुञ्जहरुमा पेट्रोलिङ गस्ती बढाउ

चैत २७— लकडाउनको मौका छोपेर निकुञ्जसहित संरक्षित क्षेत्रमा चोरीशिकारी भएका घटना सार्वजनिक भएपछि संघीय सरकारले संयुक्त र पेट्रोलिङ गस्ती बढाउन निर्देशन दिएको छ ।

चैत १४ गते सिकारका पर्सा निकुञ्जमा प्रवेश गरेका हतियारधारी तस्कर समूह र सुरक्षाकर्मीबीच गोलीहानाहान भएको थियो । जसमा एक सिकारीको ज्यान समेत गयो । उनीहरू जरायो सिकारका लागि निकुञ्ज क्षेत्रमा प्रवेश गरेका थिए।

यो घटनासँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्ज र वन्यजन्तु आरक्षलाई परिपत्र नै गरेर चनाखो भएर बस्न र अरु बेलाभन्दा बढी पेट्रोलिङ गस्ती गर्न निर्देशन दिएको हो । ‘लकडाउनको मौका छोपेर चोरीशिकारसँगै तस्करी हुनसक्ने देखिएपछि अहिले गस्ती बढाइएको छ,’ विभागका सूचना अधिकारी विष्णु श्रेष्ठले भने। निकुञ्ज र आरक्षको सुरक्षाको जिम्मा सेनाले सम्हाल्दै आएको छ । अहिले सेनाले गस्ती बढाएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जले तस्करी रोक्न सेना र निकुञ्जका कर्मचारी परिचालन गरी निकुञ्जभित्र स्वीप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्रयापिङलाई तीव्रता दिएको छ.
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार लकडाउनयता वन्यजन्तु र काठ तस्करीका लागि निकुञ्ज प्रवेश गरेका २८ जनालाई पक्राउ गरिएको छ।
राजधानीसँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट काठदाउरा चोरीतस्करी बढेपछि गस्ती बढाइएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार लकडाउन यता मात्र काठदाउरा चोरिरहेको एक सय जनाभन्दा बढी मानिसलाई पक्राउ परेका छन्।
निकुञ्जले सुकेका साना सिटामात्र दाउराका रुपमा लैजानेलाई नियन्त्रणमा लिँदैन । हतियार भने खोस्ने गरेको छ । हरियो रूख र सुकेका पनि ठूला मुढा काट्नेलाई काठसहित नियन्त्रणमा लिइन थालिएको हो। यद्यपि लकडाउनमा हिरासत लिँदा संक्रमणको जोखिम रहने भन्दै कागज गराएर छाड्ने गरिएको उनले बताए। मुलुकभर १२ वटा निकुञ्ज, २ वटा आरक्ष (ढोरपाटन सिकार आरक्षसहित) र ६ वटा संरक्षण क्षेत्र छन् ।

ताजा समाचार

सम्बन्धित समाचार