पोखरा, चैत्र २५ – अमेरिकामा बस्दै आएका चिनियाँ मूलका रेन योङसु २९, पेशाले सफ्टवेयर इन्जिनियर हुन् । हिमाल हेर्ने धोको पुरा गर्न मार्च नौ तारिखमा नेपाल आएका उनको लक्ष्य नेपाल सहित यूरोपका धेरै मूलुक घुम्ने थियो । तर, उनको यात्रामा कोरोना भाईरसको संक्रमणको त्रासले ब्रेक लाग्यो ।
नेपालमा केही दिन बसेर धित मरुन्जेल हिमाल हेरेर यूरोपका विभिन्न मुलुक घुम्न जाने योजनामा निस्केका रेन कोरोना संक्रमण बढेसँगै नेपालमै रोकिए । विश्वभर कोरोना संक्रमणको त्रास बढदै जाँदा उनी पोखरामा घुमिरहेका थिए । तर, नेपालमा पनि लकडाउन सुरु भएपछि उनको नेपालभित्रकै यात्रा पनि रोकियो । त्यसले सुरुमा त उनी अत्तालिए पनि । तर, जब लेकसाइड छाडेर १५ किलोमिटर परको माछापुच्छ«े गाउँपालिका–३ अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टसम्म उक्लिने मौका पाए, उनी झनै खुसी भए । अब कोरोना संक्रमण अन्त्य नभएसम्म त्यही बस्ने उनको योजना छ ।
नेपालमा अहिलेसम्म ज्यानै जानेगरि कोरोना संक्रमण नफैलिँदा रेन ढुक्कले रिसोर्टमा बसेका छन् । ग्रामिण शैलीको रिसोर्टमा बस्न पाएका उनले रिसोर्ट संचालकसँगै घुलमिल भएर घरायसी काममा समेत साथ दिन थालेका छन् । त्यसैले त बारि खन्नेदेखि गाइ चराउनसम्म उनी संचालकसँगै पछिपछि डुल्छन् । ‘नेपालमा जस्तो बसाई अन्यत्र सुरक्षित भएन । अहिलेसम्म नेपालमा बसाई सुरक्षित छ,’ उनले भने, ‘अन्यत्र हिडडुल गर्न पनि सहज छैन ।’
नेपालमै संक्रमण बढेको खण्डमा पनि बजार क्षेत्रभन्दा केही पर बसेको र जोकोही आउजाउ नहुने र शान्त ठाउँको रिसोर्टमा बस्न पाएकोले उनले आफ्नो बसाईलाई अझै सुरक्षित ठानेका छन् । ग्रामिण भेगमा बस्दा आफू पूर्ण रुपमा सुरक्षित हुन सक्ने उनको बुझाई छ । त्यसैले त डाँडाको टुप्पोमा चिसो मौसममा रम्दै उनी नेपाली हावापानीमा रमाईरहेका छन् । ‘आफ्नै मुलुक (चीन) फर्किन पनि सहज छैन । यूरोप घुम्ने योजना त तत्काल सम्भव छैन । त्यसैले अब कोरोना त्रास नसकिन्जेलसम्म यही बस्छु,’ उनले भने ।
रेन जस्ता धेरै पर्यटक अहिले हिमाली जिल्लामा रमाईरहेका छन् । लकडाउनका कारण हिडडुल कम भएपनि चिसो मौसममा रमाउँदै बस्न पाउँदा धेरै पर्यटक स्वदेश फर्किन समेत मानेका छैनन् । भीसा अवधि भएपनि वा सकिएपनि बस्न पाउने भएपछि नेपाल भित्रिएका ती पर्यटक अहिले ढुक्कले रमाईरहेका छन् । लकडाउनका कारण फिरन्ते बनेर घुमफिर गर्न नपाएपनि हिमाली जिल्लाको सुन्दरता र चिसो मौसममा लोभिन पाउँदा उनीहरु दंग छन् ।
हिमालपारिको जिल्ला मनाङका विभिन्न ठाउँमा ११ जना विदेशी पर्यटक बसेका छन् । ती विदेशी पनि स्वदेश फर्किन चाहेका छैनन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का मनाङस्थित संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार मनाङमा अहिले ११ जना विदेशी पर्यटक बसेका छन् । अमेरिका, इटली, स्वीटरजरल्याण्ड लगायतका मुलुकका ती पर्यटकले स्वदेश फर्किनु भन्दा नेपालमै बसोबास सुरक्षित ठानेका छन् । त्यसैले उनीहरु हिमाली क्षेत्रमै रोकिएका छन् ।
‘अघिल्लोपटक हामीले केही पर्यटकलाई आउजाउको व्यवस्थापन परेर काठमाडौंसम्म जाने माहोल मिलायौ । तर, यी पर्यटक यतै बस्न चाहे । हामीले जर्बजस्ती उनीहरुलाई जान कर पनि गरेनौ,’ तिरुवा भन्छन, ‘अहिलेका लागि अन्यत्र भन्दा नेपाल नै सुरक्षित ठानेर ती पर्यटक यहाँ रोकिएका हुन् । उनीहरुलाई नेपाल बस्दा अहिलेका लागि असुविधा पनि केही छैन ।’ तिरुवाका अनुसार माथिल्लो मनाङमा २, पिसाङ, ङावल र तल्लो मनाङमा ३–३ जनाका दरले पर्यटकहरु बसेका छन् । उनीहरुलाई हिडडुलमा भने रोक लगाइएको छ । गाउँलेसम्म रम्दै ती पर्यटक होटलमै बसिरहेका छन् ।
मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार पर्यटकहरु बस्न चाहेकोले पनि उनीहरुलाई जाउ भनेर दवाव नदिएको बताए । ‘हामीले जान चाहनेलाई विशेष व्यवस्था गरेर पठाएका हौ । तर, यी पर्यटक स्वदेश फर्किन चाहेनन,’ पौडेलले भने, ‘त्यसपछि हामीले पनि उनीहरुलाई दवाव दिएनौ । उनीहरुलाई जिल्लामा बस्न दिएपनि लकडाउन अवधि भएकोले हिडडुल गर्न भने दिइएको छैन ।’ मनाङमा रोकिएका ती पर्यटक होटलमै बसिरहेको उनले सुनाए ।
यस्तै अवस्था मुस्ताङमा पनि छ । मुस्ताङका विभिन्न भागमा रहेका विदेशी पर्यटक पनि स्वदेश फर्किन चाहेका छैनन । नेपालमै बस्दा बढी सुरक्षित भइने भन्दै पर्यटकहरु रोकिएका छन् । मुस्ताङबाट अघिल्लो साता धेरै पर्यटक फर्केका थिए । तर, अझै पनि २५ जनाजति विदेशी पर्यटक मुस्ताङमै रहेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । ‘अघिल्लो साता धेरै पर्यटकलाई हामीले विशेष व्यवस्थापन गरेर स्वदेश फर्किने व्यवस्थापन ग¥यौ । तर केही पर्यटक यतै बस्न चाहेकोले हामीले उनीहरुलाई फर्किन दवाव पनि दिएनौ,’ उनले भने ।
हिमाली जिल्लामा रहेका ती सबै पर्यटकले आउजाउमा झन्झट हुने र संक्रमण फैलिने जोखिम रहेको भन्दै सुरक्षित ठानेर नेपालमै बस्न चाहेको अर्यालले बताए । ‘भीसा अवधि सकिएपनि समस्या नभएकोले उनीहरु यतै बस्न खोजेका हुन,’ अर्यालले भने, ‘यात्राको क्रममा संक्रमणको त्रास पनि छ । त्यही भएर आईसकेका पर्यटक नेपालमै रोकिन चाहेका हुन् । अहिलेसम्मको अवस्थामा नेपालमै संक्रमणको कारण ज्यानै गएको अवस्था छैन । त्यही भएर पनि पर्यटकले नेपाललाई सुरक्षित ठानेका हुन् ।
पोखरामा पनि अझै केही विदेशी पर्यटक बसिरहेका छन् । विश्वभर कोरोना संक्रमण बढ्दै जाँदाताका नेपाल भित्रिएका केही विदेशी अझै पनि यहाँका विभिन्न होटलमा बसेको पश्चिमाञ्चल होटल संघले बताएको छ । करिब अढाईसय जति विदेशी पोखराका विभिन्न होटलमा बसिरहेको संघका अध्यक्ष विकल तुलाचन बताउँछन् । ‘नेपालमा स्वास्थ्य उपचारको उचित व्यवस्था नरहेको भन्ने थाहा पाएर कतिपय पर्यटक डराएर पनि फर्किए । नेपालमा भन्दा आफ्नै देशमा उपचार राम्रो हुने भनेर पनि फर्किए । तर, कतिपय पर्यटकले आफ्नो देश भन्दा पनि नेपाललाई सुरक्षित ठानेर बसेका छन,’ तुलाचनले भने, ‘सहरमा भन्दा पनि ग्रामिण भेगका होटल, रिसोर्टमा पर्यटक बढी बस्न चाहेका छन् ।’