काठमाडौ, फागुन २० – जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको समस्या विश्वसामु उजागर गर्न आगामी चैतमा काठमाडौँमा आयोजना हुने भनिएको ‘सगरमाथा संवाद’ अन्तत स्थगित भएको छ ।
चैत २० देखि २२ गतेसमम्मका लागि तय गरिएको संवाद चीनबाट फैलिएको कोरोना भाइरसका कारण स्थगित गर्नु परेको हो।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार पत्रकार सम्मेलनमा भने, ‘उपयुक्त समय हेरेर फेरि गर्ने गरी अहिलेलाई सगरमाथा संवादको पहिलो श्रृखलालाई स्थगित गरेका छौँ।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएपछि सरकारले यो कदम चालेको हो।
यो संवादमा बाह्य मुलुकबाट १ सय ५० प्रतिनिधि आउने तय भएपनि कोरोनाको विश्वव्यापी प्रभावका कारण संवाद नै स्थगित गर्नु परेको हो।
गत वैशाख २ को मन्त्रिपरिषद्ले राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषय एवं मुद्दामा हरेक २ वर्षमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवादका रूपमा बहस गर्ने निर्णय गरेको थियो ।
सगरमाथा संवादका लागि सरकारले नारायणहिटी दरबारको पश्चिम ढोकास्थित राहदानी विभाग परिसरभित्र सचिवालय समेत स्थापना गरेको थियो।