काठमाडौं – पश्चिमी वायुको प्रभावले विहबारदेखि परेको वर्षा र हिमपातले शुक्रबार पनि निरन्तरता पाएकाे छ । विहिबारको तुलनामा शुक्रबार भारी वर्षा र हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुलुकका पश्चिमी क्षेत्रमा अत्याधिक वर्षा र हिमपात परेको छ भने मध्यपहाडी जिल्लाका साथै हिमाली क्षेत्रमा भारी हिमपात भएके महाशाखाले जनाएको छ । शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकामा वर्षा भयो । शुक्रबार देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले बिहीबार राजधानी काठमाडौंलगायत देशका पश्चिमी क्षेत्रमा हल्का वर्षा भएको थियो । महाशाखाका अनुसार काठमाडौं, पोखरा र नेपालगन्जमा छिटफुट वर्षा भएको थियो । तर शुक्रबार भने भारी वर्षा भयो ।
विशेषगरी शनिवारपनि मध्ये र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । शुक्रबार दिनभर कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुमा भारी हिमपात भएको छ । डडेल्धुराको सदरमुकामसँगै पहाडी जिल्लाहरुमा हिमपात भएको हो । हिमपातका कारण पहाडी ७ जिल्लाको राजमार्ग अवरुद्ध भएको छ । बुधबारदेखि मौसममा आएको परिवर्तनसँगै बिहीबार रातिदेखि हिमपात सुरु भएको हो । हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो । हिउँ जमेपछि नागरिकको दैनिकी कष्टकर बनेको छ ।
हिमपात भएपछि यहाँका राजमार्ग पनि अवरुद्ध भएका छन् । अत्तरिया–डडेल्धुरा-भीमदत्त राजमार्ग र डडेल्धुरा-बैतडी- दशरथचन्द राजमार्गका विभिन्न ठाउँमा अवरुद्ध भएको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार भीमदत्त राजमार्गको हगुल्टे र दशरथ चन्द राजमार्गको अनारखोलीमा भारी हिमपात भएको छ । डडेल्धुरा सदरमुकाममै पनि केही ठाउँमा एक फिटभन्दा बढी हिँउ जमेको छ । सुरक्षाकर्मीसहित अमरगढी नगरपालिका र गन्यापधुरा गाँउपालिकाको डोजर सडक खोल्नका लागि परिचालन गरिसकेको र बाँकी डोजरका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
एक्कासी बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका र मजदुर प्रभावित भएका छन् । यो दोस्रो हिउँदे वर्षा हो । हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई झरीसँगैको हिमपातले धेरै राहत पुर्याएको छ । झरीसँगै हिमपात भएकोले किसान खुसी भएका छन् । यस्तै बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् । पूर्वी उत्तरी भेगका चार स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा रहेका विच्छ्याँ, रुगिन, बूढीनन्दा नगरपालिकाको कोल्टी, पाण्डुसैन र बडीमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकामा बीचमा पर्ने पोरखे लेकमा बाक्लो हिमपात भएको छ ।
पोरखे लेकमा बाक्लो हिमपात भएको बडीमालिका नगरपालिका–७ का स्थानीय धनलाल पाध्यायले बताए । यस्तै गौमुल गाउँपालिकाको दहकोट र मानाकोटमा समेत बाक्लो हिमपात भएको सोही गाउँपालिका–१ का वडाध्यक्ष बलबहादुर रोकायाले जानकारी दिए । हिमपातले गर्दा बाहिर निस्कनसमेत मुस्किल भएको वडाध्यक्ष रोकायले बताए । उनका अनुसार हिमपातले चिसो बढेसँगै बस्तुभाउ स्याहारमा समेत समस्या भएको छ । गोठमा गाईभैँसी र भेँडापाठा चराउन पुगेका स्थानीय कृषकलाई समेत सामान पुर्याउन झनै समस्या भएको उनले बताए ।
सिँचाइ नभएका क्षेत्रमा वर्षा र हिमपातले सिँचाइको काम गर्ने भएकाले किसान खुशी भएका छन् । हिमपात भएपछि विभिन्न रोगकिरासमेत नष्ट भएर जाने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । लेकाली भेगका ठाउँमा चिसोबाट बच्न सतर्कता अपनाउन निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले आग्रह गरे । उनले चिसोबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले आवश्यक औषधिको व्यवस्था गर्न स्थानीय तहलाई निर्देशन दिए ।
पूर्वी क्षेत्रका चार स्थानीय तह र तल्लो क्षेत्रका गौमूल गाउँपालिकालगायतका क्षेत्रका विद्यालय हिमपातका कारण पूर्णरूपमा बन्द भएका छन् । हिमपातले चिसो हुने भएकाले बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय नै बन्द भएका हुन् । अधिकांश विद्यालयमा तेस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । वर्षा र हिमपातका कारण विद्यालयले सञ्चालन गर्दै आएका परीक्षासमेत प्रभावित हुने मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले बताए । चिसोले विद्यार्थीलाई समस्या हुने भएकाले परीक्षा नै स्थगित गर्नुपर्ने हुनसक्ने उनले बताए ।
कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ । हिमाली विद्यालय क्षेत्र हिमपातले ढाकिए पनि बिदा भएकाले शैक्षिक क्षेत्र प्रभावित भएको छैन । त्यहाँ अहिले सबै विद्यालयमा जाडो बिदा छ । हिमाली जिल्लाको उच्च भागमा करिब पाँच फिट हिमपात भएको जुम्ला बस्दै आएका मुगु निवासी नोर्बु लामाले जानकारी दिए ।
‘बाहिर हिउँसँगै पानी परिरहेको छ। बाहिर आउने अवस्था छैन’, लामाले भने, ‘बर्सेनि यो समयमा जाडो र हिमपात भइरहँदा बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई समस्या हुने गर्दछ ।’ हिमपातको समयमा गरिब घरपरिवार, ज्येष्ठ नगारिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित पार्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा अर्जुनप्रसाद तिवारीले जानकारी दिए । यो समयमा भाइरल रुघाखोकी, निमोनिया, दमको रोगको समस्या हुने भन्दै उनले तातोपानी खान, न्यानोमा बस्न, औषधि लिनेले नियमित सेवन गरिराख्न, झोलिलो तातोतातो चीज खान सबैलाई आग्रह गरे ।
कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको पाइएको छ । जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका सवारीसाधन बन्द भएका छन् । हवाई उडान बन्द भएको नागरिक उड्डयन कार्यालय जुम्लाले जनाएको छ । मूलतः हिमपात र वर्षाले कृषक लाभान्वित हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।