काठमाडौँ– विगत तीन दशकदेखि वातावरण संरक्षण र दीगो विकासको पक्षमा निरन्तर वकालत गरिरहेको नेपाल वातावरण पत्रकार समूह(नेवापस) ले निर्माण गर्न लागेको भवनको शुक्रबार शिलान्यास गरिएको छ।
नेवापसको कार्यालय बागडोलमा निर्माण हुने सो भवनको अर्थमन्त्री युवराज खतिवडाले एक विशेष समारोहबीच शिलान्यास गरेका छन् । भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले भौतिक निर्माण मात्र नभई वातावरण संरक्षण र नीति निर्माणको क्षेत्रमा समेत नेवापससँग सहकार्य गर्न सरकार तयार रहेको बताए।
मान्छे र वातावरणबीचको द्वन्द्वलाई युद्धको रुपमा नभई सहकार्यको रुपमा बुझ्नु पर्ने उनले बताए। गरिबी निवारण र वातावरण संरक्षण एकअर्काको परिपुरक रहेको भन्दै उनले भने, ‘वन विनास, दुर्लभ वन्यजन्तुको तस्करी र खनिजको दोहन गरिबीसँग जोडिएको छ र राज्यले त्यसको व्यवस्थापन गर्नुपर्छ।’
मन्त्री खतिवडाले भवन निर्माणका लागि सहयोग गर्न आफू तयार रहेको बताउँदै सो प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत ल्याउन आग्रह गरे।
वरिष्ठ पत्रकार भैरव रिसालले कार्य समितिलाई शुभकामना दिँदै समूहले विभिन्न कालखण्ड पार गर्दै वातावरणको क्षेत्रमा छुट्टै पहिचान बनाएको बताए। उनले भने,‘ भवन निर्माणका लागि नेवापसको आफ्नै स्रोत अपर्याप्त छ, त्यसैले कम्तीमा पचास लाख सहयोग गर्न म आग्रह गर्दछु ।’
नेवापसले नेपालको वातावरण जोगाउनका लागि विभिन्न कार्यक्रम गरेको र आगामी दिनमा हरदम प्रयासरत रहने बताउँदै भवन निर्माणका लागि सरकारले आर्थिक सहयोग गर्ने अपेक्षा गरे।
नेवापसका अध्यक्ष कसमस विश्वकर्माले समूहको लागि आजको दिन ऐतिहासिक भएको बताए। नेवापस सरकारसँग नजिकमा रहेर वातावरण र विकासको मुद्दाहरू उठाउने र जनचेतना जगाउने काममा वर्षौदेखि लागिरहेको उनले जनाए। समूहमा उपलब्ध स्रोतले मात्र भवन निर्माण गर्न नसकिने भएकाले सबैको सहभागिता र सहकार्य आवश्यक रहेको उनको भनाई छ । उनले सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान पनि गरे। दुई वर्षको कार्यकालमा एक वर्ष सकिएको र बाँकी रहेको समयमा भवन निर्माणको काम सम्पन्न गर्ने प्रण गरिएको उनको भनाई छ।
कार्यक्रममा बोल्दै नेवापसका महासचिव निमेष रेग्मीले विगत ३३ वर्षदेखिको सपना साकार हुन लागेको बताए। ‘भवनको शिलान्यासँगै विगत ३३ वर्षदेखिको सपना अब साकार हुन लागेको छ,’ उनले भने, ‘अबको १० महिनामा सो भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ।’
ठूलो परिवार एकीकृत भएको भन्दै उनले वातावरण, दीगो विकास र नेपालको संरक्षणको लागि प्रयास गर्दै आइएको बताए। नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेकाले वातावरण विनास नहुने गरी विकास हुनु पर्छ भन्दै नेवापसले आवाज उठाइरहेको उनको भनाई छ। ३८ सय स्क्वायर फिटमा निर्माण हुने साढे २ तलाको भवनको लागत मूल्य अविवृद्धि कर सहित १ करोड ५० लाख हुने बताए।
सो शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, नेवापसका पूर्व पदाधिकारी, सरकारी अधिकारी लगायत अन्य विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिति थियो।
भवन निर्माणका लागि नेवापसले पि.सी विल्डर्स एण्ड सप्लायर्स प्राइभेट लिमिटेड र ओम बुद्ध इन्जिनियरिङ प्राइभेट लिमिटेडसँग लागि सम्झौता गरेको छ। दुई कम्पनीले संयुक्त रुपमा भवन निर्माण गर्नेछन्। यी दुई संस्थासँग नोभेम्बर २१, २०१९ मा सम्झौता भएको हो। एक करोड पचास लाख लगानीमा नेवापसको भवन निर्माण हुन लागेको हो।
आगामी १० महिनाभित्र भवन सम्पन्न गर्ने लक्ष्य लिइएको छ। सम्झौता पत्रमा नेवापसका तर्फबाट अध्यक्ष कसमस विश्वकर्मा र नेवापसका भवन निर्माण समितिका संयोजक चन्द्रशेखर कार्कीले हस्ताक्षर गरेका छन् भने पि.सी विल्डर्स एण्ड सप्लायर्स प्राइभेट लिमिटेडका निर्देशक दीपक राज नेपाल र ओम बुद्ध इन्जिनियरिङ प्राइभेट लिमिटेडका निर्देशक सुनिल घिमिरले हस्ताक्षर गरेका छन्।