Saturday, April 19, 2025

सुविधायुक्त शौचालय निर्माण गर्दै महानगर

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले उपत्यकमा नुहाउने लगायतका सुविधायुक्त सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। कमजोर पूर्वाधार, पानी, बत्ती, महिला सुरक्षा र अपाङ्गताको पहुँच नहुनु सार्वजनिक शौचालयका मुख्य समस्या रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

यिनै समस्यालाई दृष्ट्रिगत गदै महानगरले एकैपटक ३ जनासम्मले शौच गर्न सक्ने र नुहाउन मिल्ने खालका शौचालयको निर्माणको तयारी अगाडी बढाएको छ।

हाकाहाकीसँग कुरा गर्दै महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सबैको पहुँच हुनेगरी शौचालय निर्माण हुने जानकारी दिए। उनका अनुसार अहिले शौचालय निर्माणका लागि स्थान पहिचानको काम भइरहेको छ । उनले भने, ‘हामीले १२ वटा स्थान पहिचान गरिसकेका छौं। २५ देखि ३० वटा ठाउँमा निर्माण गर्ने हाम्रो योजना हो । अन्य स्थानहरूको पनि अध्ययन भइरहेको छ।’

आयोगले २० प्रकारका ढाँचामा सार्वजनिक शौचालयको डिजाइन गरिसकेको छ। महिला पुरुष दुबैले प्रयोग गर्न मिल्ने, महिला र पुरुषको छुट्टै, अपाङमैत्री, दुई कोठे, तीन कोठे, चारकोठे आदि ढाँचामा निर्माण गरिने उनको भनाइ छ। ‘स्थान, लगानी र आवश्यकताका आधारमा यीमध्ये जुनसुकै प्रकारका शौचालय पनि निर्माण गर्न सकिन्छ,’ उनले भने।

उनका अनुसार यसरी डिजाइन गरिएका शौचालयको लागत कम्तीमा २० लाख रुपैयाँ र बढीमा ७० लाखसम्म हुनेछ। निर्माण हुनलागेका शौचालयमध्ये ५ वाटा एनआरएनले निर्माण गरिदिने प्रतिबद्धता गरेको जानकारी दिए। बाँकी काठमाडौँ महानगरले आफ्नै लगानिमा निर्माण गर्नेछ।

 सार्वजनिक शौचालयमा सरसफाइको अभाव, साबुन र पानी नहुनु, महिलाको मासिक तालिकाका लागि आवश्यक पर्ने स्यानिटरी प्याड प्राप्त नहुनु, पर्याप्त पानीको व्यवस्था नहुनु, महिला र अपाङ्गता भएका व्यक्तिका लागि प्रतिनुकुल हुनु जस्ता समस्यालाई अन्त्य गरी शौचालय निर्माण गरिने उनी बताउँछन्।

यसअघि पनि काठमाडौँ महानगरपालिकाले स्मार्ट शौचालयको योजना अघि सारेको थियो । महानगरले उपत्यकाको भीडभाड र मान्छेको आवतजावत हुने क्षेत्रलाई पहिचान गरेर स्मार्ट शौचालय निर्माण गर्ने प्रक्रिया अघि बढाए पनि निर्माणको काम भने शुरू गरेको छैन।

महानगरले पहिलो चरणमा टेकु चोक, सानेपा पुल, कालिमाटी, कलंकी, सीतापाइला, बालाजु, माछापोखरी, गोंगबु प्रहरी चौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरीमा स्मार्ट शौचालय निर्माणको तयारी गरेको छ। त्यस्तै, गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबर्महल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, एनएसी, न्यूरोड जुद्ध सालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरमा पनि पहिलो चरणमै निर्माण गर्ने योजनामा महानगर छ।

स्मार्ट शौचालय निर्माणका लगि नीजि संस्थाहरूसँग पनि छलफल भइरहेको उपाध्यक्ष बस्नेतले बताए। राष्ट्रिय सरसफाइ तथा समन्वय समितिका अनुसार अहिले पनि नेपालमा सरसफाइको अभावमा ५ वर्ष मुनिका औसतमा दैनिक ४ जना अर्थात् वार्षिक करिब १४ सय बालबालिकाको मृत्यु हुने गरेको छ। हाल काठमाडौँ महानगरपालिकामा जम्मा ५८ वटा मात्र सार्वजानिक शौचालय छन्। तीमध्ये पनि ४९ मात्र चालू अवस्थामा छन् । प्रयोगमा रहेका मध्ये १५ वटा शौचालयमा पानी उपलब्ध छैन।

ताजा समाचार

सम्बन्धित समाचार