१८ असोज, सर्लाही ।
जिल्लाको सामुदायिक वन क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ ।
बागमती नगरपालिका– ४, बरमबाबा सामुदायिक वन नजिकैको खेतमा आइतबार बिहान (१८ असोजमा) वयस्क हात्ती मृत फेला परेको हो । खेतमा परबर टिप्न गएका स्थानीयले खेतको बीचमा हात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
यस्तो खबर पाएपछि प्रहरी र सव डिभिजन वन कार्यालयका अधिकारीहरू घटनास्थल पुगेर घटेको अवस्था विश्लेषण गरेको छ । मृत पोथी हात्ती करिब ३० देखि ३५ वर्ष हाराहारीको हो ।
सबडिभिजन वन कार्यालय मुर्तियाका प्रमुख सुवास योगीले प्रारम्भिक विश्लेषणमा घटनाको वास्तविक कारण नखुले पनि विषाक्त खानाका कारण हात्ती मरेको हुन सक्ने ठहर गरिएको बताए ।
‘घटनास्थलको प्रकृति र बाहिरी अवस्था हेर्दा हात्तीले विषाक्त खानेकुरा खाएजस्तो देखिन्छ’, उनले भने । हात्ती मरेको स्थान आसपासमा खेत माडिएको छ । विषाक्त खानेकुरा खाएपछि पीडामा छटपटिएर हात्ती खेतमा रन्थनिएर दगुरेको स्थानीयको अनुमान छ । मुचुल्काको प्रक्रिया पूरा गरेपछि हात्तीको सद्गत गरिने वन कार्यालयले जनाएको छ ।





