काठमाडौँ– लामो समयदेखि चर्चामा रहेको बाहिरी चक्रपथको निर्माण परियोजना बजेट अभावका कारण अलपत्र परेको छ। सो चक्रपथ निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ को बजेट विजियोजन नभएपछि यसको भविष्यका बारेमा थप अनिश्चितता छाएको हो।
अहिलेसम्म पनि सम्बन्धित निकायहरूले वैकल्पिक श्रोतको लागि कुनै पहल नगर्दा निर्माण नहुने पक्का जस्तै भएको छ। आयोजना निर्माणको लागि शहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको भएपनि अर्थ मन्त्रालयबाट ठोस निर्णय नआएको मन्त्रालयको भनाइ छ।
हाकाहाकीसँग कुरा गर्दै मन्त्रालयमा प्रवक्ता कृष्णप्रसाद दवाडीले ६ खण्डमध्ये ५ को अध्ययन पुरा भएको र १ को अन्तिम चरणमा रहेको जानकारी दिए। उनका अनुसार सबै खण्डहरूको प्रारिम्भक अध्ययन गत वर्ष नै सकिएको हो। उनले भने, ‘हामी त तयारी अवस्थामा छौं। अर्थ मन्त्रालयबाट केही पहल नभएकाले काम शुरु नभएको हो।’
केही समयअघि बाहिरी चक्रपथको निर्माणका लागि चिनियाँ कम्पनी छानिएको समाचारको खण्डन गर्दै उनले भने, ‘हामीलाई त्यो विषयमा कुनै आधिकारिक लिखित वा मौखिक जानकारी सम्बन्धित निकायबाट आएको छैन।’
आर्थिक श्रोत जुटेमा पहिला प्रस्ताव गरिएको मोडललाई केही संशोधित गरेर काम गर्ने सहसचिव दवाडी बताउँछन्।
एकातर्फ शहरी विकास मन्त्रालय अर्थ मन्त्रालयलाई निर्माण रोकिनुको कारण देख्छ तर अर्थ मन्त्रालय भने शहरी विकास मन्त्रालय र भौतिक पूवार्धार मन्त्रालयले नै बहिरी चक्रपथ आयोजनालाई प्राथमिकतामा नराखेको बताउँछ। अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीका अनुसार चक्रपथको मुख्य जिम्मेवारी पाएका दुई मन्त्रालयले नै कुनै कदम नचालेको हो।
उनले भने, ‘अर्थ मन्त्रालयको काम श्रोत जुटाइदिने हो। बजेट विनियोजन गर्दा पनि सरकारको लिमिटेसन हुन्छ। प्राथमिकताको आधारमा विनियोजित हुने हो। अब उहाँहरूले भन्नु प-यो नि कुन चाहिँ महत्तवपूर्ण हो भनेर त।’ सरकारको क्षमताअनुसार विभिन्न क्षेत्रामा बजेट विनियोजन हुने उनले बताए।
बाहिरी चक्रपथ ८ लेनको बन्नेछ। सडकका दुबै भागमा साइकल ट्रयाकका साथै ग्रिन बेल्टसहितको फुटपाथ निर्माण हुने बताइएको छ। फुटपाथसहित ५० मिटरको बाटो बन्ने छ भने बाटोको दुबैभागमा २ सय ५०–२ सय ५० मिटरको जग्गामा विकास योजना बन्नेछ । चक्रपथले काठमाडौँ उपत्यकाका तीन वटै जिल्लालाई छुनेछ, भने तराई जोड्ने फास्ट ट्रयाकका साथै अरनिको, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलाई समेत जोडिने छ। यसका साथै चक्रपथमा चारवटा फ्लाइओभर बन्नेछन्। ७२ किलोमिटर दूरीको बाहिरी चक्रपथ निर्माणका लागि साढे ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
बाहिरी चक्रपथको क्षेत्र सबैभन्दा धेरै काठमाडौँमा पर्छ । त्यसपछि भक्तपुर र ललितपुरभित्र पर्छ। काठमाडौँमा ३५.०८, ललितपुरमा १५.८० र भक्तपुरमा २१.०५ किलोमिटर गरी जम्मा ७२ किलोमिटरको बाहिरी चक्रपथ बन्नेछ। बाहिरी चक्रपथको रुट चोभारबाट गम्चा, सतुंगल, नैकाप, पूरानो भञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखा, चपली, चुनिखेल, गोकर्णेश्वर, थली, डाँछी, दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल, बुङमती, हुँदै चोभारसम्म रहेको छ।
बाहिरी चक्रपथ निर्माण भएमा काठमाडौँको ट्राफिक व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ। सरकारले सडक आसपासमा विद्युत, खानेपानी, सार्वजनिक पार्क, खुला स्थान, मनोरञ्जन स्थललगायत पूर्वाधारसहितको व्यवस्थित बस्ती विकास गर्ने योजना अगाडि सारेको छ यसका साथै अरनिको र पृथ्वी राजमार्गसहित फास्ट ट्रयाकसँग जोडिने भएकाले बाहिरी चक्रपथ निर्माण पश्चात् उपत्यकाको ग्रामीण र शहरी क्षेत्रमा सेवा सुविधाको पहुँच पुग्ने अपेक्षा गरिएको छ। चक्रपथ निर्माणको प्रक्रियासँगै आकाशिएको जग्गाको भाउ अब धमाधम घट्न थालेको छ।