Tuesday, November 19, 2024

भक्तपुरका सडक अलपत्र पार्ने ठेकेदारलाई सात दिनभित्र उपस्थित हुन उर्दी

काठमाडौँ – निर्माणको जिम्मा लिएर समयमै काम सम्पन्न नगर्ने तीन ठेकेदार कम्पनीलाई सडक डिभिजन भक्तपुरले सात दिन भित्र कार्यालय उपस्थित भइ स्पष्टिकरण पेश गर्न उर्दी जारी गरेकाे छ।

बुधबार सूचना जारी गर्दै डिभिजनले लोहनी एण्ड ब्रदर्श/लालिगुँरास जे.भी, सुनौला खिम्ती कन्स्ट्रक्सन र श्री लामा विल्डर्स/साल्पा शेर्पा/जयबाबा गोरख जे.भीलाई तोकिएको समय अवधिभित्र निर्माण कार्य सम्पन्न नगरेको र यसअघि कार्य सम्पन्न गर्नका लागि मौखिक, टेलिफोन तथा पत्राचार मार्फत सूचना गरिएकोमा हालसम्म पनि निर्माण कार्य अगाडि नबढेको हुँदा संशोधित कार्यतालिका अवधिभित्र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित सात दिन भित्र कार्यलयमा सम्पर्क गर्न उर्दी जारी गरेकाे हो।

लोहनी एण्ड ब्रदर्श/लालिगुँरास जे.भी लाई कमलविनायक बसपार्कदेखि भत्केकोपाटी सडक विस्तार तथा ड्रेन निर्माण (२०६९ मंसिर ३०मा सम्पन्न गर्नेगरी), सुनौला खिम्ती कन्स्ट्रक्सनलाई लोकन्थली हेल्थपोस्ट रमाइलो चोक चाइल्ड नेचर स्कुल सडक विस्तार र हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटी विहार बहाखा बजार सडक विस्तार(२०७२ असार २२मा सम्पन्न गर्नेगरी) र श्री लामा विल्डर्स/साल्पा शेर्पा/जयबाबा गोरख जे.भीलाई मनोहरा खोला पुल ईन्द्रायणी चाँगुनारायण सडक मनोहरा खोलामा आर सीसी पुल तथा पहुँच सडक निर्माण(२०७० पुस २६ मा सम्पन्न गर्ने गरी) का लागि ठेक्का दिएकोमा हालसम्म सम्पन्न भएको छैन्।

डिभिजनद्वारा जारी सूचनाका अनुसार प्रकाशित भएको सात दिनभित्र कार्यालयमा सम्पर्क नगरे खरिद सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता तोडी कार्य सम्पादन जमानत बापतको रकम पूरै जफत गर्नुका साथै सम्झौता अन्यभएका कालरले सम्झौता बमोजिम बाँकी रहेको कार्य पूरा गर्न जे जति आवश्यक पर्छ सो रकम सम्झौता बमोजिम कार्य नगर्ने निर्माण व्यवसायीहरूबाट असूल उपर गरिने छ।

ताजा समाचार

सम्बन्धित समाचार