ललितपुर– ललितपुर महानगरपालिकाले साइकल लेन निर्माणको काम शुरु गरेको छ।
महानगरको सहरलाई साइकल सिटी बनाउने योजना अन्तर्गत साइकल लेन निर्माण शुरु गरिएको हो। महानगरले पहिलो चरणमा कुपन्डोल–जावलाखेल–लगनखेल खण्डमा साइकल लेन निर्माण गर्नेछ। सोही लेनलाई हुँदै मंगलबजार हुँदै पुल्चोकसम्म पु-याइने छ।
लेन निर्माण कार्यको औपचारिक सुरुवात शनिवार बिहान नगर प्रमुख चिरीबाबु महर्जन गर्ने महानगरले जनाएको छ। औपचारिक सुरुवात शनिवार भए पनि निर्माण कार्य भने बिहीबारबाट शुरु भइसकेको छ।
साइकलको प्रयोगलाई प्रोत्साहित गर्न सके वातावरण जोगाउन सकिने र साइकलमैत्री सडकमा प्रदुषण कम हुने महानगरको दाबी छ।
शनिवार बिहान ८ बजे स्थानीय बासिन्दा, साइकलप्रेमी, जनप्रतिनिधिहरू, कर्मचारीलगायत साइकलसहित महानगर कार्यालय परिसरमा जम्मा हुने कार्यक्रम रहेको बताइएको छ। साइकल र्याली पुल्चोक, कृष्ण गल्ली, हरिहरभवन हुँदै कुपण्डोलसम्म गरिने महानगरले जनाएको छ।
महानगरले साइकल लेन निर्माणका लागि भदौ २ गते रमित कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ। सम्झौता अनुसार चैतसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ। यससँगै ललितपुर महानगर पहिलो साइकल मैत्री सहर हुने भएको छ।
यो पनि पढ्नुहोस्: