काठमाडौँ– टुँडिखेलभित्र अस्तव्यस्तरूपमा राखिएका निर्माण सामग्री हटाउन काठमाडौँ महानगरले निर्देशन दिने तयारी गरेको छ ।
‘अकुपाइ टुँडिखेल’ का अभियानकर्मीको आग्रहमा बुधबार कर्मचारीसहित टुँडिखेल अनुगमनमा गएकी उपप्रमुख हरिप्रभा खड्गीले निर्माण कम्पनीलाई सामग्री हटाउने निर्देशन दिने बताएकी हुन् । काठमाडौँ महानगरले केही समयका लागि निर्माण सामग्री राख्न खाली ठाउँ दिएको थियो ।
टुँडिखेलमा धरहरा पुनःनिर्माणका क्रममा निस्किएको माटो र भत्काइएको हुलाक सेवा विभागको सामग्री राखिएको छ भने रत्नपार्कमा वीर अस्पताल र दरबार हाइस्कुलको भवन निर्माणको सम्पूर्ण सामग्री राखिएको छ । निर्माण सामग्री राख्न दिइएको ठाउँलाई पार्किङ बनाएपछि खड्गीले खुला गर्न निर्देशन दिने बताएकी हुन् ।
अस्तव्यस्तरूपमा राखिएको निर्माण सामग्रीका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै अकुपाइ टुँडिखेल अभियानका अभियानकर्मीले विरोध गर्दै आएका छन् । उपप्रमुख खड्गीले छिट्टै टुँडिखेलमा राखिएका निर्माण सामग्री हटाएर खुला बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।