काठमाडौँ– वरिष्ठ पत्रकार तथा अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनयकुमार कसजूको निधन भएको छ।
राष्ट्रिय सूचना आयोगका प्रथम अध्यक्ष कसजूको ७२ वर्षको उमेरमा आज मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको हो। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजू राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गतेदेखि उपचाररत थिए।
सामाजिक रेडियोका अभियन्ता कसजू सूचना आयोगका पहिलो प्रमुख आयुक्तसमेत हुन्। नेपाली भाषा साहित्य, बालसाहित्य, पत्रकारिता र मानवअधिकार क्षेत्रका पछिल्लो समय बाल साहित्यमा लेखन तथा सम्पादनमा सक्रिय थिए।
बाल साहित्यतर्फ कसजूका ५० बढी कृति प्रकाशित छन् भने सयौं बाल कृतिहरू सम्पादन गरेका थिए।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले ट्वीट मर्फत कसजूको शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘वरिष्ठ पत्रकार तथा राष्ट्रिय सूचना आयोगका प्रथम अध्यक्ष विनयकुमार कसजूको निधन भएको खबर सुनेर दुःख लागेको छ । दिवंगत कसजूप्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दछु ।’