काठमाडौँ– ०७५ मा मनसुन दाहिँना भई पर्याप्त पानी पर्दा मुख्य खाद्यबाली धानको उत्पादन ८.८९ प्रतिशतले बढेर ५६ लाख १० हजार मेट्रिक टन पुग्यो।
धान उत्पादनले कीर्तिमान कायम राखेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूले मात्र जस लिएनन्, स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक प्रतिनिधिसभामा भनेका थिए, ‘कृषिमा आधुनिकीकरण भएको छ, पर्याप्त सिँचाइ, मल र उन्नत बीउका कारण उत्पादन बढेको हो।’हुन् पनि ०७४ मा धान उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टनमा खुम्चिएकोमा त्यसको अर्काे वर्ष उत्पादन ८.८९ प्रतिशतले बढेको थियो।
धानबालीलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। यो बालीको उत्पादन घटेमा त्यसको सीधा असर कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत पर्छ। अर्थशास्त्रीहरूका भनाइमा धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा १ प्रतिशतले घटबढ हुन्छ। जीडीपीमा कृषि क्षेत्र (कृषि, वन तथा मत्स्यपालन) को योगदान २७ प्रतिशत रहेकामा धानको योगदान ४ प्रतिशतभन्दा बढी छ।
तर, यस वर्ष ठिक उल्टो भइदिएको छ, धानको उत्पादन घटेको छ। धानको उत्पादन घट्ने निश्चित भए पनि यकिन तथ्यांक त छैन। तर उत्पादनमा १० देखि १५ प्रतिशतसम्म गिरावट आएर ५४ लाख टनमा खुम्चिने अनुमान गरिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी भने धानबालीको उत्पादन लगत लिने काम भइरहेको र उत्पादनमा कति कमी आउँछ यकिन भन्न नसकिने बताउँछन्।
आँखिर यो वर्ष किन धानबालीको उत्पादनमा गिरावट आउँदैछ ? यस्ता छन् पाँच कारण
खडेरी: ०७६ मा मनसुन औसत रहेपनि ०७५ को जस्तो अनूकुल बन्न सकेन। नेपालमा धान रोपाइँको उत्तम समय जेठ अन्तिमदेखि असारलाई मानिन्छ। तर, ०७६ मा नेपाली आकाशमा औसतभन्दा १० दिन ढिला गरेर ५ असारमा मात्र मनसुन प्रवेश ग-यो।
मनसुन मुलुकभर फैलिएर भारी वर्षा गराउन असार १५ कटिसकेको थियो। अर्थात् ०७६ मा धान दिवस खडेरीमै मनाइयो। जबकि, ०७५ मा भने मनसुन १० वर्षयता नै पहिलो पटक औसतभन्दा २ दिन अघि २५ जेठ (८ जुन) मा भित्रिएको थियो।
किसानका लागि वर्षाको पानी मूल्यवान हुन्छ, कारण कृषिका लागि कम्तीमा ६५ प्रतिशत पानी वर्षाबाट प्राप्त हुन्छ। ०७५/०७६ को आर्थिक सर्वेक्षणअनुसार कुल कृषियोग्य २६ लाख ४१ हजार हेक्टर जमिनमध्ये ८० प्रतिशतमा धान खेती हुन्छ, जबकि १४ लाख ७५ हजार हेक्टरमा मात्र सिँचाइ उपलब्ध छ। आर्थिक सर्वेक्षणमा भनिए अनुसार स्रोतमा पानीको उपलब्धताको कमी, जल स्थानान्तरण तथा जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा ढिलाइले सिञ्चित क्षेत्रफलको ३३ प्रतिशत जमिनमा मात्र बाह्रै महिना सिँचाइ हुन्छ। यति मात्र होइन यो वर्ष अन्न भण्डार भनेर चिनिने पश्चिम तराईका जिल्लामा पर्याप्त वर्षा नै भएन। कतिपय किसानले धान रोपाइँ गर्न नपाउँदा खेत बाँझै रह्यो, जसको सीधा असर उत्पादनमा परेको छ।
मुलुकमा १५ लाख हेक्टरभन्दा बढी धानखेतीयोग्य जमिन छ। त्यसमध्ये यो वर्ष समयमा पानी नपर्दा १३ लाख हेक्टरमा मात्र रोपाइँ भयो। धानको उत्पादकत्व ३.७ टन प्रतिहेक्टर छ।
मल अभाव: नेपालमा खेतीयोग्य जमिन र त्यसमा आवश्यक मलको आधारमा प्रतिवर्ष ६ लाख मेट्रिक टन मलको माग छ। तर, वार्षिक सालाखाला साढे ३ लाख मेट्रिक टन मल आपूर्ति हुँदा अभाव हुने गरेको सुनिँदैन। गत आर्थिक वर्ष ०७५/०७६ मा भने २ लाख ३१ हजार मेट्रिक टन अनुदानको मल आयात भयो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पहिलो चरणमा ५ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन भएपछि आवश्यक परिमाणमा मल खरिद गर्न रकम अभाव देखियो। दोस्रो चरणमा ३१ वैशाख मन्त्रिपरिषद्को निर्णयबाट ३ अर्ब रुपैयाँ थपिएको थियो। ग्लोबल टेन्डर गर्नुपर्ने पछिल्लो व्यवस्थापछि निकासा भएको ३ अर्ब रुपैयाँबाट धान सिजनमा मल आपूर्ति हुन सकेन। अहिलेको खरिद प्रक्रियाले मल आयात हुनै ६ महिना लाग्ने गरेको छ । यस आधारमा ५२ हजार मेट्रिक टन मलको अभाव भएको थियो। सरकारले भारत सरकारसँग समझदारी (जीटूजी) गरेर तत्काल मल आयातको प्रयास गरे पनि सफल भएन ।
मुलुकमा अहिले सरकारबाट अनुदानप्राप्त मल साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडले माक्र बिक्री गर्दै आएका छन्। अनुदानको मल कृषि सामग्री कम्पनीका ५ हजार २ सय वटा र साल्ट ट्रेडिङका २ हजार ३ सय सहकारी डिलरबाट बिक्री हुँदै आएको छ । तर, सहकारीहरूमा पुगेको मलसमेत कृषकले पाउन सकेका छैनन्।
बाढीपहिरो: प्रदेश–२ धान उत्पादनका लागि उर्वर भूमि हो। यहाँका किसानले समयमै रोपाइँ गर्न पाएनन् नै। जब जसोतसो धान रोपेका थिए असार अन्तिमतिर ठूलो बाढी आयो। २६ असारदेखि चार दिनसम्मको झरीसँगै बाढीडुबानले रौतहट, सिराहा लगायतका जिल्लामा धनजनको क्षति गर्यो। भर्खर भएको रोपाइँ पनि बगाएर लग्यो। मध्य तथा पूर्वी नेपालको पहाडी र तराई क्षेत्रमा केन्द्रित वर्षाले ३१ जिल्लामा प्रत्यक्ष असर गरेको थियो।
तर, ०७५ मा समयमै सुरु भएको मनसुन अन्त्यसम्म सक्रिय बनेको थियो, भने अनावृष्टि, अतिवृष्टि खासै भोग्नुपरेन। तर ०७४ मा औसतभन्दा २ दिन ढिलो मनसुन भित्रिए पनि सुरुआतीमा निस्क्रिय रह्यो भने साउन अन्तिम साता (१०–१५ अगस्त) मा तराईमा ठूलो बाढीले जनधनको क्षति गरेको थियो, भने धानबाली नष्ट पारिदिएको थियो। यस वर्ष पनि ३७ हजार ४ सय ६६ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा बाढीले क्षति गरेको कृषि मन्त्रालयको तथ्यांक छ।
नक्कली बीउ: भारतीय हाइब्रिड धान गरिमाको बीउ भनेर महंगो मूल्य तिरेर लगाएका किसान यो वर्ष नराम्ररी ठगिए। उत्पादन बढेन आशामा तराईका किसानले महंगो मूल्यमा गरिमा नामक धानको बीउ किनेर रोपाइ गरेका थिए। तर, ०७२ मा पञ्जीकरण भएको उक्त बीउ यो वर्ष भने फरक जातको रहेका कारण धानमा बाला नलागेको कृषि अनुसन्धान परिषद् (नार्क) ले पुष्टि गरेको छ। फलतः गरिमा धान लगाएका चितवनसहित मध्य र पश्चिम तराईका किसानले फसल भित्र्याउन पाएनन्। गाँज काटेर अन्य बाली लगाए। १ हजार ४ सय ६ हेक्टरमा नक्कली बीउका कारण बाला नै नलागेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ९ जिल्लाका किसानले गरिमा नामक धान लगाएका थिए।
फौजी कीरा: यो वर्ष फौजी कीराले प्रकोपकै रुप लिँदा धानबालीमा क्षति पुगेको छ। पाक्न लागेको धानमा असोज पहिलो सातादेखि संक्रमण फैलिएकोमा यसले सातवटै प्रदेशका कुनै न कुनै जिल्लाका धानबालीमा क्षति पु-यायो। फौजी कीराका कारण २० हजार ४ सय १४ हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको सरकारी दाबी रहेपनि क्षति बढ्न सक्छ। किनकी यो तथ्यांक १ कात्तिकसम्मको मात्र हो। त्यसयताको तथ्यांक मन्त्रालयमा आएको छैन।
रैथाने भइसकेको फौजी कीराले किसानलाई हरेक वर्षझैँ दुःख दिइरहेको छ। माईथिम्ना सेपरेटा नामक यो फौजी कीरा ०२९ मा नुवाकोट, त्रिशूलीस्थित मकैबालीमा देखिएको थियो। हाल धानबालीलाई निसाना बनाइरहेको छ।