काठमाडौँ- दोलखास्थित तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको क्षमता वृद्धि गरेसँगै पूरक वातावरणीय प्रभाव मूल्यांकन (एसआइए) थालिएको छ।
विगु र गौरीशंकर गाउँपालिकामा प्रस्तावित उक्त जलविद्युत आयोजनाको क्षमता यसअघि ८८ मेगावाट भनिएकोमा हाल क्षमता वृद्धि गरी ९९.८ मेगावाट पु-याउने निर्णय भइसकेको छ। यसअघि यो आयोजनाको इआइए ०७३ असार ८ गते स्वीकृत भएको थियो।
प्रस्ताव अनुसार तामाकोशी पाँचौँ जलविद्युत आोजनाले विगु गाउँपालिका–१, २, ३ र ४ तथा गौरीशंकर गाउँपालिका–५, ८ र ९ वडालाई समेटछ। तामाकोशी नदीकै पानी प्रयोग गरी सञ्चालन हुने निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको क्यासेड आयोजनाको रुपमा सो आयोजनाले विद्युत उत्पादन पश्चात फालेको पानीलाई भूमिगत हेडपोण्ड निर्माण गरिने छ। र, हेडपोण्ड निर्माण गरी ८.१३ किलोमिटर लामो हेडरेस सुरुङबाट पानी पुनः तामाकोशी नदीमा छाड्ने प्रस्ताव गरिएको छ। यसरी आयोजनाले २.५६ हेक्टर निजी जग्गा स्थायी रुपमा प्रयोग गर्नुपर्नेछ।
यसरी आयोजनाको क्षमता वृद्धि गर्दा केही सहायक संरचनाको स्थान समेत परिवर्तन गर्नुपर्ने भएकाले पूरक इआइए थालिएको आयोजनाको प्रवद्र्धन कम्पनी तामाकोशी जलविद्युत कम्पनीले जनाएको छ। पूरक इआइएको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पुगिसकेको छ।
उक्त आयोजनामा एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)ले लगानी गर्न अर्थ मन्त्रालयसँग ऋण सम्झौताका लागि छलफल भइसकेको छ। आयोजनामा लगानी हुने १ सय ५० मिलियन अमेरिकी डलर (करिब १६ अर्ब रुपैयाँ) ऋण दिन एआइआइबी करिब तयार भएको अवस्था छ ।
यसअघि नै उक्त आयोजनाको वातावरणीय प्रभाव, जैविक विविधता, स्थानीय सामाजिक जनवीवनजस्ता विषयमा अध्ययन गर्न ९ लाख अमेरिकी डलर (करिब ९ करोड ९० लाख रुपैयाँ) अनुदान सहयोग दिइसकेको छ । यद्यपि, पछिल्लो पटक तामाकोसी ५ जलविद्युत् आयोजनामा लगानी गर्न अस्ट्रियाले इच्छा देखाइसकेको छ।
नेपाल र अस्ट्रियाको ऊर्जा संयन्त्रको कात्तिकमा काठमाडौँमा भएको पहिलो बैठकमा अस्ट्रियाले दुई आयोजनामा लगानी गर्ने इच्छा राखेको ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्यालले जानकारी दिए । अस्ट्रियाले लगानीका लागि चासो देखाए पनि यसको मोडालिटी, ब्याजदरजस्ता विषयमा छलफल गर्न बाँकी छ।