Tuesday, April 22, 2025

नेवापसका पूर्व अध्यक्ष गुरुवाचार्यको निधन

काठमाडौँ– वरिष्ठ पत्रकार एवम् नेपाल वातावरण पत्रकार समूहका पूर्व अध्यक्ष विनय गुरुवाचार्यको शुक्रबार निधन भएको छ।

लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्याबाट पीडित ८२ वर्षीय गुरुवाचार्यको थापाथली स्थित आफ्नै निवासमा शुक्रवार निधन भएको हो।

नेपाल वातावरण पत्रकार समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालले नेपालको वातावरणीय आयोजनाहरूमा उनको योगदान महत्तवपूर्ण रहेको बताए। गुरुवाचार्यको अध्यक्षतमा नेवापसले नयाँ फड्को मारेको दाहाल बताउँछन्। उनले भने, ‘नेपालमा पहिलो पटक वातावरणीय आयोजनको कार्यान्वयन उहाँकै कार्यकालमा भएको हो।’

दुई वर्षसम्मको उनको नेतृत्वमा सहजकर्ताको रुपमा श्रोतहरू जुटाइदिने, पछिल्लो पुस्ताको युवालाई वातावरणको क्षेत्रमा कलम चलाउन प्रेरित गर्ने र तालिक दिनेमा उनको योगदान रहेको उनले जानकारी गराए।

उनी भन्छन्, ‘भद्र स्वभाव, नीजि स्वार्थ नभएको र संस्थाको लागि आफूले सक्दो सहयोग गर्नुहुन्थ्यो।’ उनको निधनले पत्रकारिता, वातावरण क्षेत्र र नेवापसलाई ठूलो क्षति भएको उनी बताउँछन्।

उनले भने, ‘उहाँको कार्यकालमा देशभरिका पत्रकारहरूलाई वातावरणको मुद्दाहरूमा सूसुचित गरिएको थियो। अन्य क्षेत्रको तुलनामा पत्रकारहरू वातावरणीय चुनौतीका विषयमा बढी जानकार थिए । वातावरण पत्रकारिताको शुरुवातमा उहाँले गरेको जगको कामले अहिलेसम्म निरन्तरता पाएको हो।’

त्यस्तै अर्का पूर्व अध्यक्ष ओम खड्का गुरुवाचार्य इमानदार र निस्वार्थ रुपमा काम गर्ने व्यक्ति रहेको बताउँछन्। उनले भने, ‘नेवापसको लागि उहाँले महत्तपूर्ण योगदान छ। आफ्नो क्षमता र दक्षतालाई प्रयोग गरेर संस्थालाई र संस्थाका सदस्यहरूलाई नेतृत्व प्रदान उहाँले गर्नुभयो।’

राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रकारिता क्षेत्रमा उहाँको सक्रियता रहेको भन्दै पूर्व अध्यक्ष लक्ष्मण उप्रेतिले भने, ‘एपीको प्रतिनिधि र जापानको माइनिचीको नेपालको ब्यूरो चिफ भएर उहाँले काम गर्नुभयो। जापानले दोस्रो विश्वयुद्धपछि मनास्लु हिमाल आरोहण गरेपछिको बेलादेखि उहाँ त्यहाँ हुनुहुन्थ्यो। जापानमा नेपालको न्यूज पठाउनको लागि उहाँको योगदान उल्लेखनिय छ।’

उनले भने, ‘उहाँले मद्दत पनि गर्नुहुन्थ्यो। उ बेला गाडी कम हुँदा उहाँले हामीलाई घर छोडिदिनु हुन्थ्यो। पत्रकारितामा उचनिच हुँदैन सबै बराबर हो भन्नु हुन्थ्यो। आज शुरु गर्ने होस् वा हामी २० वर्ष पत्रकारिता गर्ने होस् सबै समान हो भनेको कुरा चित्त बुझ्दो थियो। प्रत्साहान गर्ने उहाँको बानी थियो।’

स्वर्गीय गुरुवाचार्य पछि अध्यक्ष भएका समकक्षी आदित्यमान श्रेष्ठ गुरुवाचार्य क्रियशील पत्रकार र लगानशिल व्यक्तिवको रुपमा व्याख्या गर्छन्।

गुरुवाचार्यले अमेरीकामा मुख्यालय रहेको अन्र्तराष्ट्रिय समाचार समिति एसोसिएटेड प्रेस (एपी)को काठमाडौँस्थित प्रतिनिधिका रुपमा ३८ वर्ष काम गरेका थिए । उनले जापानी दैनिक पत्रिका माइनिची सिम्बुनमा पनि काम गरेका थिए । गुरुवाचार्यको पशुपति स्थित विद्युतीय शवदाह गृहमा शनिवार विहान अन्त्येष्टि गरिएको छ। गुरुवाचार्यको श्रीमती, एक छोरा र एक छोरी छन् ।

ताजा समाचार

सम्बन्धित समाचार