Sunday, September 8, 2024

त्रिशूली किनारमा फोहर जलाउँदा नदी प्रदूषण

मुग्लिन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको बजार क्षेत्रबाट निस्कने फोहरमैला प्रायः बजार नजिकै राजमार्गको छेउबाट त्रिशूली नदी किनारमा जलाउने र फ्याँक्ने गरिँदा धुवाँको दुर्गन्ध फैलिनुका साथै नदीसमेत फोहर हुने गरेको छ ।

इच्छाकामना गाउँपालिकाको मुख्य बजार क्षेत्र मुग्लिन, चेरेस, कुरिनटार र फिस्लिङमा दैनिक अत्यधिक मात्रामा फोहर उत्पादन हुने गरेको छ । ती फोहर स्थानीय क्लब, समूह तथा टोल विकास संस्थाले उठाएर बजार नजिकैको राजमार्ग छेउमा फालेर व्यवस्थापन गर्ने गरिएको छ । राजमार्गमा आउने धुँवाकोे मुस्लोले गर्दा प्रदूषण मात्र नभई सडक नै ढाक्दा दुर्घटनाको सम्भावना बढ्ने गरेको छ ।

राजमार्गअन्तर्गत मुग्लिन बजार नजिकै र कुरिनटारको धारापानी नजिकै एकै दिनमा फालिएको फोहर जलिरहेको अवस्थामा फेला परेको थियो । गाउँपालिकाले अन्य विकल्प तयार नगरेसम्म फोहर व्यवस्थापनमा समस्या आइरहने स्थानीयवासी बताउँछन् ।

सडक छेउमा फोहर जलाउँदा र फ्याँक्दा त्रिशूली नदीलाई समेत प्रदूषित बनाएको छ । नदी प्रदूषण हुँदा जलयात्रा व्यवसायसमेत सङ्कटमा परेको व्यवसायी बताउँछन् ।

ताजा समाचार

सम्बन्धित समाचार