Tuesday, April 22, 2025

सार्वजनिक शौचालय निर्माण गर्न आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिकाभित्र प्रविधियुक्त सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्न आग्रह गरिएको छ । गैरसरकारी संस्था गुथीद्वारा सातौँ विश्व शौचालय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वक्ताले काठमाडौँमा सार्वजनिक शौचालय निर्माण कार्य तत्काल थाल्न आग्रह गरेका हुन् ।

सङ्घीय संसद् सदस्य जीवनराम श्रेष्ठले शौचालयको समस्या समाधान भयो भने सहरमा आवतजावत गर्ने यात्रुको मुख्य समस्या समाधान हुने भन्दै निर्माणको काम थाल्न सुझाव दिए । यस विषयमा कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले भएका सार्वजनिक शौचालयको अवस्था सुधार गर्ने र नयाँ निर्माण गर्ने कामलाई बराबरी महत्व दिएर महानगरले काम गरिरहेको जानकारी गराए ।

कामपाको सहरी योजना आयोगले, सहरमा निर्माण गरिने सार्वजनिक शौचालयको ढाँचा तयार पारेको जानकारी गराएको छ । राष्ट्रिय सरसफाइ तथा समन्वय समितिका सदस्यसचिव देवेन्द्र झाका अनुसार अहिले पनि नेपालमा सरसफाइको अभावमा ५ वर्षमुनिका औसतमा दैनिक चारजना अर्थात् वार्षिक करिब एक हजार ४०० बालबालिकाको मृत्यु भइरहेको बताए ।

पूर्वमन्त्री गणेश साहले पूर्वाधार निर्माण र सचेतनामूलक कार्यक्रमसँगसँगै लैजानुपर्ने आवश्यकता देखाए । हाल कामपाका ५८ वटा सार्वजनिक शौचालय छन् । जसमा २८ वटा मात्रै प्रयोग गर्न मिल्ने अवस्थामा रहेको छ भने अन्य प्रयोग गर्न मिल्दैन । शौचालयमा पनि साबुन, पानीको सरसफाइ समस्या रहेको छ ।कामपाले विगत तीन वर्षदेखि शौचालय निर्माण गर्ने जनाए पनि हालसम्म काम शुरु हुन सकेको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार