Wednesday, April 23, 2025

चितुवाको बच्चा मृत भेटियो

काठमाडौँ– लोक कल्याणकारी सामुदायिक वनमा चितुवाको बच्चा सोमबार मृत भेटिएको छ। अन्दाजी ११ महिनाको चितुवाको बच्चा मृत भेटिएको डिभिजन वन कार्यलय तनहुँले जानकारी दिएको हो।

हाकाहाकीसँग कुरा गर्दै कार्यलयका सूचना अधिकारी बाबुराम उप्रेतीले लम्जुङ र तनहुँको बीचमा पर्ने सो ठाउँमा चितुवाको बच्चा मृत भेटिएको बताए। भाले चितुवाले मारेको हुन सक्ने आशंका गरिएको भएपनि थप अनुसन्धान जारी रहेको उनले जनाए।

‘घटनाको प्रकृति हेर्दा भाले चितुवाले मारेको हामीले प्रारभिक अनुमान मात्रै गरेका हौं। यस विषयमा अन्य थप अध्ययन भइरहेको छ,’ उनले भने ।

चितुवाको आक्रमणबाट तनहुँमा १८ महिनाको अवधिमा ६ जनाको मृत्यु भइसकेको छ। ३ वर्षदेखि ११ वर्ष समूहको बालबालिकाको मृत्यु भएको हो।

चितुवाको आक्रमणको घटनामा वृद्धि भएपछि वन कार्यलयले विषेश पहलहरू गरिरहेको उप्रेतीले जानकारी दिए। प्राविधिक पाटोमा बढी जोड गरिएको उनले बताए। ‘हाल क्यामरा ट्रयापिङको कामहरू भइरहेको छ,’ उनले भने।

यसका साथै जिल्ला सुरक्षा समितिबाट १९ जना प्रहरी परिचालन गरेको छ । नरभक्षी चितुवालाई गोली हानेर मार्ने आदेश दिइएको उनले बताए।

चितुवा नियन्त्रणको लागि परम्परागत खोरको निर्माण भइरहेको उनी बताउँछन्। ६ वटा खोर बनिसकेको र २ वटा निर्माण हुने क्रममा रहेको उनको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार