काठमाडौँ– माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सोमबार (आज) उद्घाटन हुने भएको छ।
गत चैत्रदेखि नियमित विद्युत् उत्पादन शुरु गरेको माथिल्लो त्रिशूली ‘ए’ आयोजनाको औपचारिक उद्घाटन आज हुने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गर्न लागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो प्रयास र मेहनतपछि ६० मेगावाट क्षमताको आयोजना सम्पन्न भएको र सोमबार औपचारिकरूपमा उद्घाटनको कार्यक्रम तय गरिएको जानकारी दिए।