काठमाडौँ– अकुपाई टुँडिखेलको तीन महिने अभियान अन्तर्गतको दोश्रो शनिबार अभियन्ताहरूले टुँडिखेलमा खरीको बोट रोपेका छन्। अक्सिजन प्राप्तिका लागि टुँडिखेल एकदमै महत्वपूर्ण रहेको भन्दै खरीको बोट रोपिएको हो।
कार्यक्रममा बोल्दै वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठले टुँडिखेल खुल्ला हुनुपर्नेको महत्वबारे जानकारी दिए। काठमाडौँमा अक्सिजनका लागि टुँडिखेलजस्ता खुल्ला ठाउँ आवश्यक रहेको उनको भनाई थियो।
वि.सं १९८१ पौष १४ गते राणा प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाले त्यस बखतको विशाल टुँडिखेलको मध्य भागमा रहेको खरीको विशाल रुखसहितको ऐतिहासिक चौतारामा बसेर नेपाल अधिराज्यबाट दासत्व मोचनको घोषणा गरेका थिए।
सामाजिक, साँस्कृतिक तथा वातावरणीय हिसाबले महत्वपूर्ण उपत्यकाको टुँडिखेललाई संरक्षण गर्न कार्तिक २३देखि ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको थियो।
तीन महिनासम्म चल्ने ‘अकुपाई टुँडिखेल’ अभियान अन्तर्गत प्रत्येक शनिबार मानवसाङ्लो बनाएर टुँडिखेल घेराउ गरिने र अन्य कार्यक्रम हुनेछ। अतिक्रमणमा परेको टुँडिखेललाई पूर्वावस्थामै फर्काउन र देशैभर रहेका अन्य खुल्लास्थानहरुको संरक्षणका लागि सन्देश दिन पनि ‘अकुपाई टुँडिखेल’ अभियान चलाइएको आयोजकको भनाइ छ।
यो पनि पढ्नुहोस्: