काठमाडौँ – पर्याप्त श्रोत र साधनको अभावमा लामो समयदेखि हुन नसकेको गैँडा गणना चैतबाट हुने भएको छ ।
आर्थिक अभावका कारण गतवर्ष रोकिएको गैँडा गणना यसवर्षको चैत १ गतेबाट हुने भएको छ। सरकारले बजेट नछुट्याएपछि गत वर्ष हुनुपर्ने गैँडा गणना एक वर्ष पर धकेलिएको थियो।
तर, यस वर्ष भने सरकारले गैँडा गणनाका लागि आवश्यक बजेट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई दिएको छ।
विभागका अनुसार गैँडा गणनाका लागि सरकारले रु एक करोड १० लाख विनियोजन गरेको छ । गत वर्ष सरकारले बजेट विनियोजन गरेको थिएन । सबै रकमका लागि दाताको भर पर्दा बजेट अभावले गणना हुन सकेको थिएन।
नेपालको चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेका छन् । ती सबै निकुञ्जमा एकसाथ गणना हुने विभागले जनाएको छ।
गैँडा गणनाका क्रममा १७० जना जनशक्ति र ३५ हात्ती परिचालन गरिनेछ। यसका अतिरिक्त विभिन्न उपकरण, सवारीसाधन, हात्तीको खुराक, भत्तालगायतमा खर्च हुने गर्दछ।
नेपालमा सबैभन्दा बढी गैँडा चितवनमा छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो। गत वर्षको वर्षातमा बाढीले धेरै गैँडा बगाएको र चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ९ महिनाको अवधिमा ४१ गैंडा मृत फेला परेका थिए। त्यसैले यो वर्षको गणनालाई महत्वका साथ हेरिएको थियो।
पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा रहेका छन् जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा मात्रै रहेका छन्। त्यस बाहेक पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गैँडा पाइन्छ।