काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने बाटो समयमै मर्मत नहुँदा फोहोर बोकेर जाने गाडी तथा उक्त बाटो भएर हिड्ने अन्य यात्रु मर्कामा परेका छन्।
पासाङ ल्हामु राजमार्ग अन्तर्गत पर्ने उक्त सडक विस्तारको लागि भन्दै ६ वर्ष अगाडिदेखि खनिएपनि अहिलेसम्म सम्पन्न नहुँदा बेला बेलामा काठमाडौँबाट फोहोर बोकेर गएका गाडी बीच बाटोमै रोकिने गरेका छन्।
यसरी बाटोको कारण फोहोर बोकेको गाडी बीचमै रोकिएपछि काठमाडौँमा फोहोर चोक चोकमा थुप्रने गरेको छ।
गत वर्ष पनि बाटो कै कारण फोहोर बोेकेको गाडी ल्याण्डफिल साइट सम्म नपुग्दा काठमाडौँमा फोहोरको थुप्रो लागेको थियो।
विस्तारका लागि खनिएको सडक त्यतिकै छाड्नाले उक्त बाटो भएर हिड्न नै सकस हुने फोहोर बोकेर जाने ट्रक, उक्त बाटो भएर हिड्ने अन्य यात्रु तथा सवारी चालकहरू बताउँछन्।