नयाँ दिल्ली– भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको छ।
बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित कणहरू भेटिन पुगेको हो।
वायु प्रदूषणको मात्रा अघिल्ला दिनहरूका तुलनामा बढेको र हावाको प्रदुषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ।
यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषण हो। एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदूषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो।
हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदूषणको मात्रा यति धेरै पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
उक्त मापनअनुसार ० देखि ५० सम्म एक्युआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ। त्यसैगरी १०० देखि २०० सम्मलाई मध्यम र २०० देखि ३०० एक्युआईलाई कमजोर मानिन्छ।
त्यसैगरी ३०० देखि ४०० सम्म एक्युआईलाई अति कमजोर र ४०० देखि ५०० एक्युआईलाई कडा अर्थात एकदमै खराब मानिन्छ।
अनि ५०० भन्दा बढी एक्युआई भयो भने त्यसलाई संकटकालीन अवस्थाका रुपमा लिनुपर्ने हुन्छ। यस्तो अवस्थामा कुनै पनि देशको सरकारले ती क्षेत्रहरूमा संकटकालीन अवस्थाको घोषणा गर्नुपर्ने हुन्छ।
दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य सङ्गठनले बनाएको मानकभन्दा २० गुणा सम्म बढी भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
नयाँ दिल्ली सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा केही दिन यतादेखि यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ। सवारी साधनबाट हुने प्रदुषणको मात्रालाई रोक्न यस्तो नियम बनाएको भए पनि यसबाट प्रदुषण घट्न नसकिरहेको बताइएको छ।