Friday, April 25, 2025

थप प्रदूषित बन्दै दिल्लीको वायु

नयाँ दिल्ली– भारतको केन्द्रीय राजधानी दिल्लीमा मंगलबार पनि वायुको अवस्था अति प्रदूषित रहेको छ ।

मंगलबारसहित लगातार पछिल्ला चार दिन दिल्लीको वायु अति प्रदूषित अवस्थामा रहेको इन्डिया टुडेले जनाएको छ ।

वायु गुणस्तर तथा मौसम पुर्वानुमान र अध्ययन विभागका अधिकारीहरुले एयर क्वालिटि इन्डेक्स (एक्युआई) ३४२ रहेको जानकारी दिएका छन् ।

प्रदुषण न्युनिकरणका लागि दिल्लीका विद्यालयहरु बन्द गर्ने घोषणा गरिएको थियो । प्रदूषण न्युनिकरणकै अर्को उपायका रुपमा अघिल्लो सोमबारदेखि दिल्लीमा सवारी साधनका लागि जोरविजोर प्रणाली लागु गरिएको छ ।

जसअनुसार जोरबार जोर नम्बर भएका सवारी साधन र विजोर बार विजोर नम्बर भएका सवारी साधन चल्न दिने व्यवस्था गरिएको थियो । यो नियम चार पाङ्ग्रे निजी सवारी साधनका लागी बाध्यकारी हुनेछ तर सार्वजनिक यातायातका साधन, एम्बुलेन्स, खानेपानी तथा अतिआवश्यक दैनिक उपभोगका सामान ढुवानी गर्ने गाडीका लागी नियम बाध्यकारी नहुने बताइएको छ ।

यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो । जोर विजोर प्रणाली यही १५ नोभेम्बरसम्म लागु हुने अधिकारीहरुले जानकारी दिएका छन् ।

दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा २० गुणा बढीसम्म भेटिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा नयाँ दिल्लीको आकासमा बढी मात्रामा प्रदूषण हुन लागेको धेरै वर्ष भइसकेको छ ।

भारतीय राजधानी नयाँ दिल्ली संसारको सबैभन्दा प्रदूषित सहरमध्येको एक सहर नामले पहिलेदेखि नै चिनिँदै आएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार