Friday, April 25, 2025

डढेलोका कारण अस्ट्रेलियाका दुई राज्यमा संकटकालको घोषणा

अस्ट्रेलिया– अस्ट्रेलियाका दुईवटा राज्यहरूले संकटकालको घोषणा गरेका छन् । देशको पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा ‘भयावह’ खतरा उत्पन्न भएपछि संकटकालकोे घोषणा गरिएको हो ।

मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । हजारौँ विस्थापित भएका छन्। ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानमा ठूला झाडीहरूमा डढेलो लागेको छ।

आगलागीका कारण न्यू साउथ वेल्समा ९ लाख ७० हजार हेक्टर भूमि प्रभावित भएको छ भने एक सय ५० घरहरू नष्ट भएका बीबीसीले जनाएको छ । क्वीन्सल्यान्डमा ९ वटा घरहरू नष्ट भएको बताइएको छ ।

अधिकारीहरूले मंगलवार देशको सबैभन्दा ठूलो सहर सिड्नीमा एकदमै खराब खालको खतरा आउनसक्ने चेतावनी दिएका छन् ।

जलवायु परिवर्तनका कारण आगलागीलाई बल पुगेको भन्ने आलोचनाको प्रतिक्रियामा अस्ट्रेलियाको अनुदार सरकारले त्यसको खण्डन गरेको छ।

‘कालो शनिवार’ भनेर चिनिने एउटा प्रकोपपश्चात् एक दशक अघि आगलागीको खतराबारे त्यहाँ नयाँ मापदण्ड बनाइएको थियो । त्यसयता पहिलो पटक न्यू साउथ वेल्सका अधिकारीहरूले आगलागी खतराको तहमा पुगेको चेतावनी जारी गरेका छन्।

सिड्नीको उत्तर र दक्षिण सहित ठूलो क्षेत्रमा पनि यस्तै चेतावनी दिइएको छ । मंगलवार तापक्रम ३७ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । आगलागीको खतरा सबैभन्दा धेरै न्यू साउथ वेल्समा देखिएको बताइएको छ ।

उक्त राज्यमा मात्र एक हजार जनाभन्दा बढी अग्नी नियन्त्रकहरू खटाइएको छ भने वर्षा नहुन्जेल कतिपय स्थानमा आगलागी नियन्त्रण गर्न कठिन हुने सक्ने बीबीसीमा उल्लेख छ ।

आगलागीका कारण दुषित बनेको हावाले रोगव्याधीको खतरा पनि बढेको चेतावनी दिइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार