Thursday, April 3, 2025

अष्ट्रेलियामा डढेलोमा परी तीनको मृत्यु, हजारौँ विस्थापित

अष्ट्रेलिया- अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

आगोमा परी १५० घरमा पूर्ण क्षति भएको बीबीसीले जनाएको छ । आगलागीका कारण हजारौँ नागरिक विस्थापित भएका बताइएको छ । वस्ती वरपर लागेको डढेलोका कारण सामुद्रिक शहर फोस्टर र बोबिनमा तातो हावा र धुवाँका कारण दर्जनौ व्यक्ति विरामी परेका छन् ।

सबैस्थलमा अग्नि नियन्त्रक तथा उद्धार टोली पुग्न कठिनाई भएको बताइएको छ । घटनामा आगोले जलेका केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

डढेलो ग्रामिण बजाररहेको वस्तीमा पसेपछि भएको हताहतीको पूर्ण विवरण आउन अझै बाँकी रहेको छ । प्रारम्भिक जानकारीमा करिब १५० घरधुरी खरानीमा परिणत भएका छन् ।

उक्त क्षेत्रमा करिब १०० स्थानमा लागेको डढेलो निभाउनका लागि एक हजार ३०० अग्नि नियन्त्रक टोली पठाइएको र आवश्यकता अनुसार सेनालाई पनि सहयोगका लागि आग्रह गर्न लागिएको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनल बताएको बीबीसीमा उल्लेख गरिएको छ । घटनापछि कैयौँ व्यक्ति हराएका छन् भने स्थानीय सयौँ व्यक्तिले डढेलो नियन्त्रणका लागि स्वयम्सेवकका रूपमा निरन्तर काम गरिरहेका छन् ।

शनिबार हावाहुरी केही कम भएका कारण डढेलो नियन्त्रणमा केही सहजता मिलेको बताइएको छ । डढेलो करिब एक हजार किलोमिटर क्षेत्रमा फैलिएको रिपोर्टहरूमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार