काठमाडौँ– पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मदनभण्डारी राजमार्गले चुरे बिनास हुने बताएका छन् । साथै उनीहरूले चुरे क्षेत्र जोगाउन सबैले पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
पूर्वराष्ट्रपति यादवले चुरे संरक्षणको गुरुयोजना बनेपनि कानून नबनेको जिकिर गरे । चुरे संरक्षणका लागि आवश्यक कानून ल्याउन संघीय र प्रदेश सरकारलाई उनले सुझाव दिए । विज्ञहरूसँग गहन छलफल गनुपर्ने उनको भनाई थियो । विगतमा चुरे क्षेत्रका रुखहरू कटान भएपनि अहिले गिट्टी, ढुँगा, बालुवा उत्खनन भइरहेको बताए । नेपालको ६० प्रतिशत जनसङ्ख्या र अन्न भण्डार भएको क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै विकास योजना कार्यान्वयन गर्नुपर्दछ भन्दै उनले तराई मधेशलाई डुबान पार्ने क्रियाकलाप तुरुन्त बन्द गनुपर्ने बताए । वैज्ञानिक अध्ययन नगरी निजगढमा विमानस्थल निर्माण कार्य गर्नु विडम्बना हो भन्दै पूर्वराष्ट्रपति डा यादवले सखुवाका रूखलाई कटान गरी विमानस्थल बनाउने योजनाको पुनः मूल्याङ्कन गर्नु आवश्यक रहेको धारणा राखे ।
त्यस्तै पूर्वप्रधानमन्त्री नेपालले गिट्टीबालुवा उत्खनन रोकेर चारकोशे झाडीको जंगल जोगाउनु पर्नेमा जोड दिए । संघ र प्रदेश सरकारले कानून बनाउनुका साथै बजेट छुट्याएर जनसहभागितामुलक अभियान चलाए चुरे बरदान सावित हुने उनको भनाइ छ । पूर्वप्रधानमन्त्री नेपालले चुरेको संरक्षणका लागि सबैको ध्यान जानु जरुरी भएको बताउँदै यसका लागि प्रणालीमा नै सुधारको आवश्यकता रहको बताए ।
नेपाल साहित्य महोत्सवअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित ‘चुरेको चिन्ता’ विषयक संवाद कार्यक्रममा दुबैले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सन्दर्भमा फेरी अध्ययन गर्न समेत आग्रह गरे।