काठमाडौँ– तीनकुने उद्यानको संरक्षण गर्ने उद्देश्यले शुरु गरिएको सफाइ अभियान तेस्रो हप्तामा प्रवेश गरेको छ । गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आउँदा निर्माण गरिएको तीनकुने उद्यानको संरक्षण एवं फोहर हुन नदिन गत कात्तिक ७ गतेदेखि सफाइ शुरु गरिएको बताइएको छ ।
सफाइ अभियानकर्मीलगायत ५० जनाभन्दा बढीको सक्रियतामा भएको सफाइबाट छ बोरा फोहर व्यवस्थापन गरिएको थियो । उद्यानको सुरक्षाका लागि अभियानकर्मीको पहलस्वरुप यहाँको सफाइ अभियान शुरु भएको हो ।
सफाइ जारी राखी तीनकुने उद्यानलाई हराभरा बनाइने छ । नेपाल प्रहरीले पनि यहाँको रुख, बिरुवा एवं फूलका बोटको संरक्षणका लागि सुरक्षा दिइरहेको छ ।