Saturday, April 26, 2025

पेरिस सम्झौताबाट अमेरिका बाहिरिएको राष्ट्रसंघलाई औपचारिक पत्र

अमेरिका– संयुक्तराज्य अमेरिकाले जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ।

अमेरिकाले संयुक्त राष्ट्रसंघलाई मङ्गलबार औपचारिक पत्र पठाएको हो।

यस निर्णयसम्बन्धी आफ्नो जानकारीका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसलाई मङ्गलबार पत्र लेखेर औपचारिक रुपमै जानकारी गराएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताले अमेरिकाले पत्र लेखेको पुष्टि गरेका हुन्।

अमेरिकाले उक्त सम्झौतामा भएका प्रावधानहरुको पालना गर्न नसक्ने भन्दै आएकोमा नोभेम्बर ४ देखि आफू अब सो सम्झौताबाट नै पछि हटेको औपचारिक रुपमा पत्र पठाएको हो।

यस सम्झौतामा भएका कतिपय प्रावधानका कारणले अमेरिकालाई अनावश्यक रुपमा आर्थिक भार थपेको अमेरिकाको भनाई थियो । यसैकारण देखाएर अमेरिकाले सो सहमतिको कार्यान्वयनमा जान नसक्ने बताउँदै आएको थियो।

सन् २०१५ मा सम्पन्न भएको सो सम्झौतामा अमेरिकाले सन् २०१६ को अप्रिल २२ मा हस्ताक्षर गरेको थियो। करिब एक महिना अघि नै अमेरिकाको यस योजनाबारे संयुक्त राष्ट्रसंघलाई अमेरिकाले जानकारी गराएको थियो । जालवायू परिवर्तनका क्षेत्रमा ऐक्यबद्ध भएर लड्ने प्रतिवद्धता व्यक्त भएको सो सम्झौतामा विश्वका अमेरिकासहितका विश्वका एक सय ८८ देश सहभागी छन्।

ताजा समाचार

सम्बन्धित समाचार