काठमाडौँ – सरकारले आगामी भ्रमण वर्ष २०२० लाई लक्षित गरी मुलुककै जेठो एवम् एकसिंगे गैँडा र पाटेबाघका लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जमा रात्रि जीप सफारी सञ्चालन गर्ने विषय बाहिरिएसँगै यसको औचित्य र यसले वातावरणमा पार्ने नकारात्मक असरका सम्बन्धमा विभिन्न कोणबाट वहश भइरहेको छ।
तर, यस विषयमा प्रत्यक्ष जोडिएको सरकारी निकाय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग भने चितवनमा रात्री जीप सफारी सञ्चालन बारे सोच्दै नसोचेको बताउँछ।
हाकाहाकीसँग कुरा गर्दै विभागमा महानिर्देशक गोपाल प्रसाद भट्टराईले उक्त विषयमा आफूहरूले सोच्दै नसोचेको र सञ्चार माध्यमले कुनै आधार बिनै भ्रामक समाचार प्रकाशन/प्रशारण गरेको दाबी गरे।
‘हामीले चितवनमा राती जीप सफारी सञ्चालन गर्ने विषय सोच्दै सोचेका छैनौँ,’ उनले भने, ‘मिडियाले हचुवाको भरमा उक्त विषयलाई अगाडि ल्यायो ।’
‘अध्ययनको विषय हुनसक्छ, सञ्चालन सम्भव छैन् ’
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रुपाखेती निकुञ्जभित्र रात्रि जीप सफारी सम्भव नै नभएको बताउँछन्।
निकुञ्ज प्रवेशको एउटा सैद्धान्तिक नियम अनुसार सूर्य उदाउनु अघि र सूर्य अस्ताएपछि निकुञ्जसहित संरक्षित क्षेत्रमा राति मानव प्रवेशमा रोक लगाइँदै आएकोमा जीप सफारी सञ्चालनको विषय सम्भव नै नभएको उनको धारणा छ।
रातको समयमा बाघले शिकार गर्ने, हरिण, मृग, चित्तल लगायत वन्यजन्तुसँगै चराचुरुङ्गीले चरिचरन गर्ने, विचरण गर्ने, बासस्थानमा आराम गर्ने भएकाले राती जीप सफारी चलाउँदा जनावर र मानवबीच द्वन्द्व श्रृजना हुने उनको भनाइ छ।
‘राती जनावरहरू विश्राम गरिरहेका हुन्छन्, बाघले सिकार गरिरहेको हुन्छ, सफारी चलाउँदा उनीहरुलाई डिस्टर्ब हुन्छ, जनावर र मानव द्वन्द्व हुन्छ,’ उनले भने,‘ जनावरको विचरण, पर्यटकको सुरक्षा, जनावरको सुरक्षा लगायतका विषयलाई लिएर अध्ययन गर्न चैँ सकिएला तर सफारी सञ्चालन गर्न सम्भव छैन्।’
नेपालमा सन् १९७६ यता १२ राष्ट्रिय निकुञ्ज, २ आरक्ष, ६ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भइसकेका छन्। संरक्षणमा ठूलो योगदान पुर्याएको भन्दै अन्तर्रा्ष्ट्रियस्तरमा नेपालको प्रसंशा हुने गरेको छ । एकसिंगे गैँडा, हात्ती, बाघ लगायतका वन्यजन्तुको दृष्यालोकन गर्न बाह्य पर्यटक आउने गरेका छन्।
याे पनि पढ्नुहाेस
विज्ञ भन्छन्–’निकुञ्ज क्षेत्रमा रात्रि जीप सफारी मिल्दैन, वन्यजन्तुलाई असर गर्छ’