काठमाडौँ– काष्ठमण्डप पुनःनिर्माणका लागि काठको अभाव भएको छ । अबको एक महिनासम्ममा पनि काठको व्यवस्था हुन सकेन भने काम रोकिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए ।
छानाका लागि काठको समस्या भएको र त्यसका लागि १२ हजार क्युफिट काठ आवश्यक पर्ने हुँदा व्यवस्था गरिदिन सरकारसँग माग गरिएको छ । निर्माणअन्तर्गत अहिले ५० प्रतिशत काम सम्पन्न भएको छ । अब समयमा नै काठको व्यवस्था भए यसअघिको भन्दा तीव्ररुपमा काम हुने जनाइएको छ । निर्माणका लागि अहिले दैनिक ३० जना कामदारले नियमितरुपमा काम गरिरहेका छन् ।
विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत्रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ ।
गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ ।
यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ ।
चार वर्षभित्र निर्माण कार्य सक्नेगरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ ।