घर पुनः निर्माणमा तीव्रता

भोजपुर- जिल्लामा भूकम्पका कारण पूर्णक्षति भएका दुई हजार ४६३ घर पुनःनिर्माण भएको छ । लाभग्राहीको सूचीमा परेका पाँच हजार ७४९ पीडितमध्ये हालसम्म दुई हजार ४६३ घर पुनःनिर्माण भइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

त्यसैगरी पाँच हजार १९१ले पहिलो र तीन हजार ८२१ ले दोस्रो किस्ताको रकम लिएको उक्त कार्यालयले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ३१ जेठको निर्णय अनुसार कात्तिक मसान्तसम्म दोस्रो किस्ता र माघ मसान्तसम्म तेस्र्रो किस्ता लिइसक्नुपर्ने बताउँदै प्रमुख रेड्डीले तोकिएको समयमा तेस्रो किस्ता नलिए पहिलो र दोस्र्रो किस्ताबापत लिएको अनुदान फिर्ता गर्नुपर्ने बताए ।

निजी आवास पुनःनिमार्ण अनुदान कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यालयले स्थानीय तहमासमेत विभिन्नखाले कार्यक्रम सञ्चालन गरिरहेको छ । सरकारले निर्धारण गरेको समय सीमासम्म पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कार्यालयले आज रामप्रसाद राई गाउँपालिकाका जनप्रतिनिधिसँग काम गर्दाका समस्या, कानूनी व्यवस्थालगायत विषयमा जानकारी दिन गोष्ठी गरेको हो ।

जिल्लामा प्रवलीकरणतर्फ परेका ४५३ निवेदनमध्ये २६६ जनाले पहिलो किस्ता लिएको कार्यालयका नायबसुब्बा हरिकृष्ण दाहालले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार