Monday, September 22, 2025

राष्ट्रिय पक्षी डाँफेको संरक्षणमा समुदाय

गलेश्वर– म्याग्दीको उच्च हिमाली भेगका जङ्गलमा प्रशस्त मात्रामा पाइने नेपालको राष्ट्रिय पक्षी डाँफेको संरक्षणका लागि स्थानीयवासी सक्रिय भएका छन् । समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथिल्लो क्षेत्रमा पाइने यो पक्षी म्याग्दीको अन्नपूर्ण र धौलागिरि गाउँपालिका क्षेत्रका जङ्गलहरुमा पाइने स्थानीयवासी बताउँछन् ।

जमीनमा दौडने र थोरै मात्र उड्ने कुखुरा प्रजातिको डाँफेको संरक्षणका लागि धौलागिरि गाउँपालिकाले संरक्षण नीति नै बनाएर संरक्षणको कार्य गरिरहेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका–५ शिखका वडाध्यक्ष दिनेशकुमार पुनले गाउँपालिकाका दर्जन बढी जङ्गलमा डाँफे देखिएको बताउँदै त्यसको संरक्षणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप०सँग सहकार्य गरेर संरक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए ।

चराविद् कक्सले सन् १९९९ मा गरेको अनुसन्धानअनुसार म्याग्दीको माथिल्लो क्षेत्रमा ७०० को हाराहारीमा डाँफे भेटिएको उल्लेख गरिएको छ । सशस्त्र द्वन्द्वकालमा चोरी, शिकारी र आगलागीका कारण डाँफेको सङ्ख्या घटेकामा २०६५ सालयताको एक दशकको अवधिमा यसको सङ्ख्या दोब्बरले वृद्धि भएको स्थानीयवासीले बताएका छन् ।

पाँच वर्षदेखि पक्षी तथा जङ्गली प्राणीहरुको खोज–अनुसन्धानमा लाग्नुभएका त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्राध्यापक केशव चोखालका अनुसार नेपालमा पाइने आठ प्रकारका थोरै उड्ने र जमीनमा दौडने पक्षीका प्रजातिमध्ये डाँफे सबैभन्दा आकर्षक र ठूलो प्रजातिको पक्षी हो ।

नेपालमा डाँफेको सङ्ख्या तीन हजार ५०० देखि पाँच हजारसम्म रहेको अनुमान गरिएको चोखालले बताए । उनका अनुसार सन् १९७३ को वन तथा वन्यजन्तु ऐनमा यो पक्षीलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ । यो पक्षी विशेषगरी नेपाललगायत अफगानिस्तान, पाकिस्तान, तिब्बत र भुटानमा पाइने गर्दछ । रासस

ताजा समाचार

सम्बन्धित समाचार