Monday, September 22, 2025

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ– तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक रोका रहेका छन् ।

घरकै आँगनमा खेलिरहेका बेला चितुवाको आक्रमणमा परी सोमबार राति बालकको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । चितुवाले बालकको कम्मरमुनिको आधा भाग खाएको थियो । बालकको शव घरभन्दा १०० मिटरमाथिको जङ्गलमा भेटिएको थियो ।

मजदुरी गर्दै आएका मृतकका बुबा राजु विगत पाँच÷छ वर्षदेखि बेपत्ता भएको सोही नगरपालिकाका वडाध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिए ।

सोमबार बिहान मात्रै सोही नगरपालिका–३ स्थित एक सामुदायिक वनमा थापिएको खोरमा परेर एक चितुवा नियन्त्रणमा आएको थियो । चितुवाको आक्रमणबाट वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा छ बालबालिकाको मृत्यु भइसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार