Monday, September 22, 2025

औद्योगिक क्षेत्रको योजनाले सामुदायिक वनको कार्यक्रम प्रभावित

काठमाडौँ– चितवनको शक्तिखोर स्थित् उदयपुर सामुदायिक सुधारिएको फर्निचर उद्योग स्थापना तयारी गरेपनि उक्त क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन गरिएको तयारीले वनको योजना अन्यौलमा परेको छ ।

वन तथा वातावरण मन्त्रालयको सहयोगमा सुधारिएको फर्निचर उद्योग स्थापना गर्न उदयपुर सामुदायिक वनमा आवश्यक मेसिन थन्किएको ४ महीना भयो । उपभोक्ताहरुलाई बनिबनाउ झ्याल ढोका, कुर्सी, टेवल तथा सुधारिएको काठ उपलब्ध गराउने उद्येश्यले उद्योग स्थापना गर्ने योजना अघि बढेको थियो । सामुदायिक वनका उपाध्यक्ष सुदर्शन अधिकारीका अनुसार, शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने विषयले काष्ठ उद्योग स्थापना गर्ने योजना अघि बढेको छैन । ल्याइएका मेशीनहरु सामुदायिक वनको कार्यालय परिसरमा राखिएका छन् । “जुन स्प्रिटका साथ काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन, औद्योगिक क्षेत्र स्थापना गरिंदा रुखहरु काटिएपछि श्रोत सुक्छन । त्यसपछि के गर्ने भनेर अन्यौलमा छौं,” अधिकारी भन्छन् ।

प्रस्तावित औद्योगिक क्षेत्र कालिका नगरपालिकाको वार्डनम्वर ३,७,८ र इच्छाकमना गाउँपालिकाको वार्डनम्वर ७ मा पर्दछ । प्रस्तावित औद्योगिक क्षेत्रले उदयपुर सामुदायिक वनको ८१२.९९ हेक्टर, थाङखोला सामुदायिक वनको ३३८ र तिनकल्या सामुदायिक वनको २७ हेक्टर गरी १ हजार १७८ हेक्टर क्षेत्र ओगट्छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसारका अनुसार प्रस्तावित औद्योगिक क्षेत्रमा कृषि औजार, विद्युतीय उत्पादन, इन्जिनियरिङ, निर्माण, नविकरणीय उर्जा, अस्पताल, फर्निचर, मासु प्रशोधन, छाला प्रशोधन र रासायनिक उत्पादन लगायतका उद्योगहरु रहने छन् ।

प्रस्तावित औद्योगिक क्षेत्रमा गरिएको इआइएले औल्याएको रिपोर्ट अनुसार, करिव २ लाख ४२ हजार ८२९ रुखहरु रहेका छन् । औद्योगिक क्षेत्र निर्माणका क्रममा १ लाख ५९ हजार ८७४ रुख कटान हुनेछन् । वनको १ हजार १७८ हेक्टर जमिन स्थायी रुपमै परिवर्तन हुने भएकाले संरक्षित प्रजातिका वनस्पती र जीवजन्तु प्रभावित हुने इआइएमा उल्लेख गरिएको छ ।

त्यसैगरी ठूला सवारी साधन र मेशिनरी औजार सञ्चालनले गर्दा वायु र ध्वनी प्रदुषण बढ्ने, जल प्रदुषण हुने, फोहरमैला थुप्रिने, परेको पानीको राम्रो व्यवस्थापन नभए औद्योगिक क्षेत्र र आसपासको वस्तीलाई असर पर्ने उल्लेख छ । इआइएमा औद्योगिक क्षेत्र निर्माणले रोजगारीको सिर्जना हुने र पर्यटकको संख्या बढ्ने विषयलाई जोड दिइएको छ ।

मुख थुन्ने उपाय

औद्योगिक क्षेत्र स्थापना हुँदा आफूहरुको सम्पूर्ण वन क्षेत्र नासिने भएपछि उदयपुर सामुदायिक वन उपभोक्ता समिति आफ्ना गुनासा बोकेर सिंहदरबार सम्म पुग्यो ।

वन उपभोक्ता समितिमा अध्यक्ष लामा सहित बहुसंख्यक सदस्य र पदाधिकारी उद्योग क्षेत्र स्थापनाले पर्यावरणमा असर पुग्ने भएकाले औद्योगिक क्षेत्रको विकल्प खोज्नुपर्ने पक्षमा देखिन्छन् । लामाका अनुसार त्यसको अहिलेसम्म कुनै सुनुवाई भएको छैन । स्थानीय स्तरमा चितवन उद्योग वाणिज्य संघ, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र उदयपुर सामुदायिक वनका विचमा पटक–पटक छलफल भए । छलफलबाट वन समितिको माग सम्वोधन गर्ने त्रिपक्षीय सहमति भएको छ । जस्तो कि, उदयपुर सामुदायिक वनलाई वन क्षेत्रले ओगटे बराबरको वन क्षेत्र शोधभर्ना गर्नुपर्ने, स्थानीय स्तरका खोला, पानीका मुहान, समाधिस्थल, र कुलाको संरक्षण गर्नुपर्ने सम्झैता भएको वन उपभोक्ता समितिका अध्यक्ष केशव लामा बताउँछन् ।

औद्योगिक क्षेत्र स्थापनाले केही स्थानीयलाई रोजगारी प्रदान गरेपनि पानीका मुहान, खोला तथा कुलोको संरक्षण नहुने देखिन्छ । किनभने औद्योगिक क्षेत्रमै पानीका मुहान तथा खहरे खोला छन् । “हामी त हाम्रा माग पूरा गर भनेर लागेका छौं,” लामा भन्छन् “गछौं भन्ने कुरा त आएको छ, तर कर्यान्वयन के हुने हो ।”

ताजा समाचार

सम्बन्धित समाचार