Monday, September 22, 2025

पटकाको धुवाँले वातावरणलाई गर्छ यस्तो असर

काठमाडौँ– तिहारमा अनेकन पटका र झिरझिरेजस्ता बारुदजन्य पदार्थको प्रयोग हुने गरेको छ ।

प्रहरी प्रशासनले बारुद र पटकाजन्य पदार्थको ओसारपसार, व्यापार र प्रयोगमा प्रतिबन्ध लगाउँदै आए पनि यसको अवैध कारोबार र प्रयोगमा भने कामी आएको छैन ।

बारुद र पटकाजन्य पदार्थले स्वास्थ्यमा मात्रै होइन वातावरणमा पनि ठूलो असर पर्ने जानकारहरू बताउँछन् । तर सरकारी निकायबाट भने वातावरणमा यसले कस्तो असर गर्छ भने अध्ययन नभएको वातावरण विद्हरूको भनाई छ ।

हाकाहाकीसँग कुरा गर्दै त्रिविको पर्यावरण विज्ञानकी केन्द्रीय विभागिय प्रमुख रेजिना मास्केले बारुद र पटकाजन्य पदार्थको वातावरणीय प्रभावको हिसावले अध्ययन अनुसन्धान नभएको बताइन् । बाहिरीरुपमा देखिने क्षतिलाई बढी प्राथमिकता दिइने भएकाले पनि वायुमण्डलमा यसको असरबारे कसैको ध्यान जान नसकेको उनको भनाइ छ ।

‘पटकाबाट निस्कने धुवाँले हावामा असर गर्छ तर हामीले त्यसलाई दुर्घटनासँग मात्रै जोडेर हर्ने गरेका छौं,’ उनले भनिन् ।

तर पटका र बारुद्धजन्य पदार्थमा बढीमात्रामा हानिकारक तत्व ‘सल्फर’ हुने गरको र त्यसका कारण हावा विषाक्त हुने गरेको उनले बताइन् । विषाक्त हावाले बच्चाहरूमा बढी असर गर्ने गरेको उनी बताउँछिन् ।

त्यस्तै वातावरण विद् वटुकृष्ण उप्रेतीले पनि पटकाको आवाजका कारण मानविय क्षतिबारे अध्ययन भएपनि वातावरणीय अध्ययन र अनुसन्धान नभएको बताए । विगतमा तिहार पछि कानको समस्याका कारण चिकित्सककोमा भिड हुने गरेको तथ्यांक मात्रै रहेको उनले जानकारी दिए ।

वातावरण विभागका प्रवक्त संकर प्रसाद पौडेलले पटका र बारुद्ध बारुदजन्य पदार्थले भारतमा जस्तो भयावह रुप नलिएकाले अध्ययन नभएको बताए । ‘भारतको दिल्लीमा जस्तो पटकाको धुवाँले कुहिरो नेपालमा लाग्दैन,’ उनले भने ।

तर वातावरण कानून विद् पदम बहादुर श्रेष्ठका अनुसार बारुद र पटकाको आवाजले ध्वनी प्रदूषण बढी हुने गरेको छ । यसका साथै त्यस बाट निस्कने धुवाले वायूमण्डलमा असर गर्ने उनले बताए ।

बारुद र पटकामा प्रयोग हुने धातु कणहरू, खतरनाक विष, हानिकारक रसायनहरू लामो समयसम्म वायुमा रहने उनले बताए । ‘केहि विषहरू पूर्ण रूपले विघटित हुँदैनन् तर वातावरणकै वरिपरि हुन्छन् र त्यसले सबैलाई विषाक्त बनाउँछ, उनले भने ।’

‘काठमाडौँमा बारुद र पटका पड्काउने अनुमति दिने हो भने त्यसले प्रदूषण थप बढ्छ । लामो समयसम्म धुवा हाम्रो वायूमण्डलमा नै हुन्छ । पशुपतिमा एक दिन आगो बाल्दा त धवाले एक हप्तासम्म असर गर्छ भने बारुद र पटकामा त हानीकारण रसायनहरू प्रयोग गरिएको हुन्छ । अब हामी आफै सोचौं बारुद र पटकाले हाम्रो वातावरणमा कस्तो असर गर्छ,’ उनले भने ।

त्यसअघि उनले भने, ‘बारुद र पटका हानिकारक रासायनिक यौगिकहरू जस्तै सल्फर, क्याडमियम, बुध र सिसाबाट बनेका हुन्छन् ।’

नेपाल सरकाले बारुद र पटकाको आयातमा बन्द गरे पनि स्पष्ट नीति र कानून नभएको उनले सुनाए । ‘पटकाको आयात, भण्डारण, बिक्रीवितरण गैर कानूनी भएको भनिएता पनि सरकारले अनुगमन भने गरेको छैन्,’ उनले भने ।

‘नेपालको संविधानको धारा ३० मा हरेक मानिस स्वच्छ वातावरणमा बाच्न पाउनुपर्छ भनेर उल्लेख गरिएको छ । वातावरण संरक्षण ऐनले पनि प्रदूषणलाई बन्देज गरेको छ । तर पर्याप्त पर्यावरण काूनन हामीसँग छैन् । आफ्नो मनोरञ्जनको लागि अरुको हक त हनन गर्नु भएन नि,’ उनले भने ।

साथै छिमेकी मुलुक भारतको दिल्लीमा बारुद र पटका अदालतले नै निषेध गरेको उदाहरण दिँदै उनले नेपाल सरकारले पनि स्पष्ट नीति ल्याउनु पर्ने धारण राखे । कानूनमा बारुद र पटकाजन्य पर्दाथको नेपालमा उत्पादन र आयातमा प्रतिबन्ध लगाउनु पर्ने उनले सुझाए ।

साथै बारुद र पटकाले पार्ने मानविय र वातावरणमा पर्ने नकरात्मक असरको बारेमा प्रचार प्रसार हुनु पर्नेमा उनले जोड दिए । ‘कडा सजायको व्यवस्था हुनुपर्छ,’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार