काठमाडौँ– पहिलो किस्ता पाएर पनि घर बनाउन नपाएका भूकम्पपीडितले बढीमा पाँच वर्षका लागि तीन लाख ऋण सहयोग पाउने भएका छन्।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र युके एड सक्षम टु फाइनान्सबीच गोरखा र धादिङका भूकम्पपीडितलाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्न आज सम्झौता गरिएको छ। समक्षदारीपत्रमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टोलीनेता निर्मल दाहालले हस्ताक्षर गरे।
सम्झौतापछि धादिङका धुनीवेँसी, नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिकाका लाभग्राहीले बैंकको नियमानुसार सहुलियतपूर्ण कर्जाअन्तर्गत सहुलियतदरमा भूकम्पपीडितले घर कर्जा पाउने छन्। सम्झौतापछि प्रदेश नं २, प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लामा बैंकले सक्षमसँग मिलेर सामाजिक सुरक्षाकोषको भुक्तानी बैंकमार्फत गर्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ।