क्यालिफोर्निया– अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीका कारण करिब हजारौं मानिस विस्थापित भएका छन्।
शक्तिशाली हावा चलिरहेका कारण आगो दक्षिणी क्यालिफोर्नियातर्फ फैलिँदै गएको बताइएको छ।
सो आगो पर्वतीय क्षेत्र किनकेड सडकबाट शुरु भएको हो। यसको कारण अझै खुलेको छैन। जेटको प्रयोग गरेर अहिले आगो निभाउने प्रयास भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम वासिङटन पोस्टले जनाएको छ।
लस एन्जलस युनिफाइड स्कूल डिस्ट्रिक्टले हवाको गुणस्तर र सुरक्षाका कारण सान फर्नान्डो उपत्यकाको सबै विद्यालयहरू शुक्रवार बन्द गर्ने घोषाण गरेको छ।
पूर्वानुमानकर्ताहरू आउँदो दिनमा क्यालिफोर्नियाभरको अवस्था बिग्रने चेतावनी दिएका छन् भने पीजी एण्ड ईले पनि अझ बढी ब्ल्याकआउट्स रहने बताएका छन्।
किनकेडमा आगो फैलिएपछि सोनोमा काउन्टी शेरिफको कार्यालयले गेजर्सिलको सम्पूर्ण स्थानीयहरूलाई अन्यत्र सार्न आदेश दिएको छ भने उक्त क्षेत्रको सडकहरू पनि बन्द भएका छन्।
गत वर्षको आगोमा ८५ जनाको मृत्यु भएको थियो भने लस एन्जलस को उत्तरी भागमा ३ जनाको मृत्यु भएको थियो। त्यसैगरी सन् २०१७ मा क्यालिफोर्नियामा भएको आगलागीमा २२ जनाको मृत्यु भएको थियो।
करिब १ लाख ८० हजार घरहरुमा अहिले बिजुली बत्ती गएको छ। क्यालिफोर्नियाका १५ वटा काउन्टीमा थप खतरा नहोस् भनेर बिजुली बन्द गरिएको हो।