Monday, September 22, 2025

सिएमसीले छोडेको ११ महिनापछि मेलम्ची आयोजनाको काम पुनःसुचारु

काठमाडौँ–  ११ महिनादेखि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको काम सुचारु भएको छ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोसँग सम्झौता भएपछि काम शुरु भएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको हो।

हाकाहाकीसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले कम्पनी कार्यक्षेत्रमा गएर आवश्यक तयारीको काम गरिरहेको बताए । ‘कार्यक्षेत्रमा काम नै गर्न थालेपछि अवधि शुरु हुनेछ,’ उनले भने।

सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्य लिएको शाक्यको भनाइ छ। कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सरकारको योजना छ।

आयोजनाले ‘हेडवर्क’, सुरुङमार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ। जसमध्ये ‘हेडवर्क’ र सुरुङमार्गको काम सिनोहाइड्रोले गर्ने भएको छ। प्रशोधन केन्द्र निर्माणमा दुई निर्माण कम्पनीले गरिरहेका छन्।

आयोजना निर्माणका क्रममा पहिले धेरै अवरोध भएपनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने विश्वास उनले व्यक्त गरे। यहाँ रहेका खानेपानी प्रशोधन केन्द्र निर्माणको काम झण्डै अन्तिम चरणमा पुगेको छ।

दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्याङ्की निर्माण भएकामा एउटा सम्पन्न भइसकेको छ भने अर्काे ट्याङ्की निर्माण केही समयमै सम्पन्न हुने उनले जानकारी दिए।

यहाँको प्रशोधन केन्द्र दुबैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तरराष्ट्रिय सहयोग नियोग(जाइका) र अर्काे एशियन विकास बैङ्क (एडिबि)को आर्थिक सहयोगमा निर्माण भइरहको छ।

उनका अनुसार जाइकाको सहयोगमा निर्माण भएको ट्याङ्की सम्पन्न भइसकेको छ भने एडिबिको सहयोगमा निर्माणाधीन ट्याङ्कीको काम अन्तिम चरणमा पुगेको छ। सिएमसिले निर्माणको काम अलपत्र छाडेको आयोजनामा ‘हेडवर्क’ र सुरुङमा काम बाँकी रहेको थियो।

विद्युतीय प्रणालीबाटै विभिन्न गेट खोल्ने र लगाउने गरी निर्माण भइरहेकामा सम्पन्न भइसकेको छैन। गेटको डिजाइन, निर्माण र जडानका काम झण्डै पाँच प्रतिशत मात्रै बाँकी छ। ‘टर्नेलमा भुइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान २.५ किलोमिटर बाँकी छ,’ उनले भने ।

टर्नेल भित्र हावा बन्द हुँदा पानी नबग्ने हुँदा तीन वटा ‘भेण्टिलेटर’ निर्माण गर्ने डिजाइनमा रहेको उनले जनाए । आयोजनाको मुख्य सुरुङ खन्ने काम भने सकिएको छ। दुई प्रशोधन केन्द्रमध्ये एउटा सम्पन्न भइसकेको छ भने निर्माणाधीन केन्द्रमा पनि झण्डै ९० प्रतिशत काम सकिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार