काठमाडौँ– मानवीय सभ्यताको विकास हिमालय खण्डबाट भएकाले यस क्षेत्रका नदीमा फोहर गर्नु नहुनेमा जोड दिइएको छ। वाग्मती सुन्दरता सरोकार मञ्चले बुधबार जोरपाटीमा आयोजना गरेको सफाइसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा भारत सफाइ अभियानका मुख्य अभियानकर्मी विन्दुभूषण दुवेले नेपाल नै सभ्यताको मुहान भएकाले यहाँका नदीनाला स्वच्छ हुनुपर्ने बताए।
सफाइ मानव जीवनसँग अत्यन्तै महत्व राख्ने विषय भएकाले हिमालय क्षेत्रको संवेदनशीलतालाई बुझेर अब घर घरबाट रुख रोप्ने अभियान शुरु गर्नुपर्ने सफाइ दूतसमेत रहेका उनको भनाइ थियो ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले मुहान क्षेत्रदेखिकै वाग्मती सफाइमा स्थानीय सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । मञ्चका अध्यक्ष उत्तम पुडासैनीले वाग्मती सफाइ अभियानका क्रममा हासिल भएका अनुभव र सफलताका कथा कार्यक्रममा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आई डि एस नेपालका तर्फबाट प्रभा पोखरेल, गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायणबहादुर सुबेदी लगायतले सफाइ अभियानले नदी सफा गर्नुपर्छ भन्ने जागरण ल्याएको बताए ।