काठमाडौँ– पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रका कामदारबीच शुल्क समायोजन गर्ने सहमति भएको छ। पशुपतिस्थित घाट सेवामा कार्यरत कामदारले शव जलाउँदा लिइने सेवा शुल्कमा वृद्धि हुनुपर्ने माग गर्दै आजदेखि शव दाह रोक्ने घोषणा गरेका थिए।
कामदारको मागपछि आजै वार्ता गरी शुल्कमा समायोजन गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले बताए।
कामदारले २० वर्षसम्म शव जलाउने काम गरेपछि अवकाशका बेला १० लाख पाउनुपर्ने माग गरेकामा पाँच लाख दिने गरी सहमति भएको छ। यसअघि २० वर्ष घाट सेवामा काम गरेकाले अवकाशका बेला डेढ लाख पाउँथे । यसैगरी १५ वर्ष काम गरेकाले तीन लाख पाउने भएका छन्। यसअघि एक लाख पाउने गर्दथे।
दश वर्ष शवदाह गरेकाले ५० हजार अवकाशस्वरुप पाउने गरेकामा डेढ लाख पाउने सहमति भएको छ । यसैगरी शवदाह गरेको प्रतिशत रु एक हजार २०० बाट बढाएर रु एक हजार ५०० बनाइएको छ। दाउरा बोक्नेको प्रतिशत ४०० बाट बढाएर ६०० पु¥याइएको कोषले जनाएको छ।
घाट सेवामा हाल ४९ कामदार कार्यरत छन्। कामदार आवश्यक पर्दा सूचना प्रकाशित गरी निवेदन माग गर्ने गरिएको छ। कोषले नौ वर्षपछि घाट सेवाका कामदारको शुल्क समायोजन गरेको हो।
घाट सेवामा कार्यरत सबै कामदारको बीमा दुई लाखका दरले कोषले नै गरिदिने भएको छ। पशुपतिको विद्युतीय शवदाह गृहमा समेत गरी दैनिक औसत ३० शव आउने गरेका छन्। त्यसमध्ये धेरैको प्राथमिकता विद्युतीय शवदाह गृह बन्ने गरेको कोषले जनाएको छ। हाल दुई विद्युतीय शवदाह गृह सञ्चालनमा छ। तेस्रो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।