Monday, September 22, 2025

दुर्लभ वन्यजन्तु सालकको खपटा र बाघको छालासहित २ जना पक्राउ

काठमाडौँ– दुर्लभ वन्यजन्तु सालकको खपटा र निगालो बाघको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–२६ नरसिंह चोकबाट दुर्लभ वन्यजन्तु सालकको खपटा करिब १ केजी ४ सय ग्राम र निगालो बाघको छाला ३ फिट ११ ईन्ज सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौँ कपन बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ घर भएका २८ वर्षीय नवराज न्यौपाने र गोरखा सिरान चोक गाँउपालिका–६ घर भएका २२ वर्षीय केशव अर्याल रहेका छन्। दुर्लभ वन्यजन्तुको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त खपटा र छाला सहित फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनालाई उक्त खपटा र छाला सहित आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार