काठमाडौँ– जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माण अन्तर्गत पहिलो तला निर्माणको काम सकिएको छ।
काष्ठमण्डप पुनःनिर्माण समितिले मङ्गलबार सार्वजनिक सुनुवाइ गरी पुनःनिर्माणको काम लगभग आधा सकिएको जनाएको हो।
उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार हालसम्म तीन करोड खर्च भएको छ। उपभोक्ता समितिलाई काठमाडौँ महानगरपालिकाले साढे पाँच करोड दिएको थियो।
हाल काष्ठमण्डपका लागि आवश्यक काठ बर्दिवास र अम्लेखगञ्जबाट ल्याइएको छ। हालसम्म चार हजार ३८ क्युफिट काठ उपयोग भइसकेको छ। सम्पदाविज्ञ डा सुर्दशन तिवारीले पुरातात्विक सामग्रीको संरक्षण गरी पराम्परागत प्रविधिको प्रयोग गरी काष्ठमण्डपको पुनःनिर्माण भइरहेको जानकारी गराए।
पुरातत्व विभागले जाँच गरेर पुराना सामग्री पुनः प्रयोग गर्न सकिन्छ भनेपछि केही पुराना काठ र इँटा पुनःनिर्माणमा प्रयोग गरिएको छ।
तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ १९ करोड ८८ लाख लाग्ने अनुमान महानगरले गरेको थियो।