‘नदी फोहोर फाल्ने भाडो होइन’

काठमाडौँ– अखिल भारतीय शान्ति प्रतिष्ठानका अध्यक्ष बिन्दु भुषण दुवेले भारतको गंगा नदी पहिलेको तुलनामा ७० प्रतिशत सफा भएको बताएका छन्।

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको अन्तक्रियामा दुवेले सन् २०१४ देखि शुरु गरिएको अभियानले गंगा नदी सफा बन्दै गएको बताएका हुन् । ‘२०१४ देखि शुरु गरिएको अभियान र चेतना मूलक कार्यक्रम पछि स्थिति केही सुधारिएको छ,’ उनले भने।

गंगा नदीको सफाइ अभियान पहिलो पटक सन् १९८५ मा राजिव गान्धीले शुरु गरेका हुन् तर २०१४ पछि मात्रै सो अभियानले निरन्तरता पाएको हो।

२ हजार ५ सय २५ किलोमिटरको गंगा सफाइ अभियानमा देशभरको तीन हजार गैर सरकारी संस्थाहरूको सहभागिता रहेको दुवेले जानकारी दिए। ति संस्थाहरूले आफुनो क्षेत्र छुट्टाएर काम गर्ने गरेको उनले जनाए। ‘कुनैले एक किलोमिटर सफा गर्ने गरेका छन् भने कुनैले तीन सय किलोमिटर सफा गर्छन्,’ उनले भने।

ति संस्थाहरूले सफाइका साथै उक्त क्षेत्रमा रहेका बासिन्दाहरूमा जनचेतनाको कार्यक्रम पनि सञ्चालन गर्ने गरेको उनको भनाइ छ। गंगा नदीको वरपरि धेरै कारखानाहरू छन्। पछिल्लो समय सरकारले उक्त कारखानाहरूलाई अल्टिमेटम दिएर बन्द गर्न आदेश दिइसकेको छ।

नदी सफाइको लागि शुरुमा फोहोरहरू नदीनालामा फालिन बन्द गरिनु पर्ने धारणा दुवेको छ। ‘नदीहरू फोहोर फाल्ने भाडो होइनन्,’ उनले भने। यसका साथै नदी सफाइमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको उनी बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार