Saturday, September 21, 2024

विज्ञ भन्छन्–’निकुञ्ज क्षेत्रमा रात्रि जीप सफारी मिल्दैन, वन्यजन्तुलाई असर गर्छ’

काठमाडौँ—निकुञ्ज प्रवेशको एउटा सैद्धान्तिक नियम छ–सूर्य उदाउनु अघि र सूर्य अस्ताएपछि मान्छेलाई प्रवेश गराउनु हुँदैन। यही आधारमा निकुञ्जसहित संरक्षित क्षेत्रमा रातिको समयमा मानव प्रवेशमा रोक लगाइन्छ, अत्यआवश्यक सडकमा ओहोरदोहोर गर्न बाहेक।

किनकी, बाघले शिकार गर्ने समय राति नै हो भने हरिण, मृग, चित्तल लगायत वन्यजन्तुसँगै चराचुरुङ्गीले चरिचरन गर्ने, विचरण गर्ने, बासस्थानमा आराम गर्ने समय पनि त्यही हो।

तराईका राष्ट्रिय निकुञ्जमा पनि जीप सफारी दिउँसो मात्र हुँदै आएको छ। तर, मुलुककै जेठो एवं एकसिंगे गैँडा र पाटेबाघका लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जमा भने ठीक उल्टो काम गर्ने तयारी हुँदैछ। अर्थात् सौराहा क्षेत्रमा रातिको समयमा पनि जीप सफारी गर्ने तयारी सरकारको छ, पर्यटन भ्रमण वर्ष–२०२० लाई लक्षित गरी।

यसबारे डा. तीर्थबहादुर श्रेष्ठको टिप्पणी छ, ‘निकुञ्ज संरक्षणका लागि हो कि शिकारका लागि ? संरक्षणका लागि हो भने रातिको समयमा जीप सफारी गर्न मिल्दैमिल्दैन। पैसा कमाउनका लागि हो भने सरकारले उद्देश्य स्पष्ट गर्नुपर्छ।’

नेपालमा सन् १९७६ यता १२ राष्ट्रिय निकुञ्ज, २ आरक्ष, ६ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र घोषणा भइसकेका छन्। संरक्षणमा ठूलो योगदान पु-याएको भन्दै अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रसंशा हुने गरेको छ, एकसिंगे गैँडा, हात्ती, बाघ लगायतका वन्यजन्तुको दृष्यालोकन गर्न बाह्य पर्यटक आउने गरेका छन्।

तर, सरकारले संरक्षणमा बाधा पुग्ने गरी पैसा कमाउने उद्देश्यले संरक्षित क्षेत्रमा मनोमानी गर्न थालेको विज्ञहरु बताउँछन्। त्यसको पछिल्लो उदाहरण शिवपुर राष्ट्रिय निकुञ्जमा जीप सफारी, केबलकार चलाउने निर्णय होस् वा निकुञ्जमै होटल, रेष्टुरा चलाउने गरी बनाउन थालिएको कार्यविधि।

डा. तीर्थबहादुर श्रेष्ठ।

डा. श्रेष्ठ संरक्षित क्षेत्रमा संरक्षण लक्षित क्रियाकलाप हुनुपर्नेमा संरक्षण उपेक्षित कामलाई बढवा दिन थालिएकोप्रति दुःख व्यक्त गर्छन्। भन्छन्, ‘यो संरक्षणमैत्री क्रियाकलाप हुँदै होइन,रातिको समयमा वन्यजन्तुको बासस्थानमा जीप कुदाउनु भनेको उनीहरूलाई ‘डिस्टर्ब’ गर्नु हो, वन्यजन्तुले असुरक्षित महसुस गरे भने बसाइँ सर्न सक्छन्।’

चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) कमलजंग कुँवर पनि डा. श्रेष्ठको तर्कसँग सहमत छन्। भन्छन्, ‘सूर्य उदाउनु अघि र सूर्य अस्ताएपछि निकुञ्जमा सफारी गराउनु हुँदैन, त्यो समयमा वन्यजन्तुले शिकार गर्ने, चरिचरन गर्ने र आराम गर्ने गर्छन्।’

 

 ‘यो संरक्षणमैत्री क्रियाकलाप हुँदै होइन,रातिको समयमा वन्यजन्तुको बासस्थानमा जीप कुदाउनु भनेको उनीहरूलाई ‘डिस्टर्ब’ गर्नु हो, वन्यजन्तुले असुरक्षित महसुस गरे भने बसाइँ सर्न सक्छन्।’

चितवन निकुञ्जमा अहिले चोरीशिकारी करीब शून्य जस्तै छ। यो निकुञ्जमा गैँडा, हात्ती, बाघ लगायत वन्यजन्तुको मृत्युको कारण प्राकृतिक प्रकोप लगायत रहेको बताइन्छ । यद्यपि, निकुञ्जको बहन क्षमताको अध्ययन भइरहेको छ, बाघ र गैँडाको।

तर, सौराहामा पर्यटकलाई आकर्षित गरेर बसाई लम्ब्याउनका लागि भन्दै तिहारलगत्तै रात्रिकालीन जीप सफारीको तयारी भइरहेको छ। रात्रिकालीन जीप सफारी गर्ने भनिएकाे क्षेत्र निकुञ्जसँगै मध्यवर्ती क्षेत्र र सामुदायिक वनले अाेगटेकाे छ।

क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार रात्रिकालीन जीप सफारीका लागि रुट निर्धारण भइसकेको छ। सौराहाबाट कुमरोज मध्यवर्ती सामुदायिक वन हुँदै लोथरसम्म सफारीको तयारी भइरहेको छ। सफारी हुने क्षेत्रको एकापट्टि मध्यवर्ती सामुदायिक वन र अर्कापट्टि निकुञ्ज क्षेत्र राप्ती नदी पर्छ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्व चीफ वार्डेन कमलजंग कुँवर।

चितवन निकुञ्जका पूर्व चीफ वार्डेन कमलजंग कुँवर भन्छन्, ‘सूर्य उदाउनु अघि र सूर्य अस्ताएपछि निकुञ्जमा सफारी गराउनु हुँदैन, त्यो समयमा वन्यजन्तुले शिकार गर्ने, चरिचरन गर्ने, आराम गर्ने गर्छन्।’

डा. श्रेष्ठ सौराहमा दिउँसोको समयमा जीप सफारी भइरहेकोमा रातिको समयमा पर्यटकलाई आकर्षित गर्न जुनकीरी देखाउन सकिने बताउँछन्। भन्छन्, ‘बरु बेलुकाको समयमा नदीमा डुंगा शयर गराएर गोहीसँगै जुनकीरीको दृष्यालोकन गराउन सकिन्छ।’

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती भने पर्यटन वर्ष–२०२० मा निकुन्जको साथ रहने र निकुञ्जको ऐन नियमको परिधि रहेर गतिविधि हुने बताउँछन्। भन्छन्, ‘निकुञ्जमा जीप सफारी र अन्य गतिविधि गर्दा संरक्षणमा विशेष ध्यान दिइनुपर्ने हुन्छ।’

ताजा समाचार

सम्बन्धित समाचार